Pura Samachar

नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्दै

प्रकाशित: June 15, 2022
पूरा समाचार

नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्दै

ह्युस्टन । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज घरेलु टोली अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती ९ : १५ मा मुसा क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

नेपाल घरेलु टोलीलाई हराउँदै अमेरिका भ्रमण अन्त्य गर्न चाहन्छ । घरेलु टोली अमेरिका मैदानको फाइदा उठाउँदै महत्वपूर्ण दुई अंक जोड्ने सोचमा हुनेछन् । नेपाल र अमेरिकाबीचको पहिलो खेल टाई भएको थियो । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएउने क्रममा अमेरिका उत्कृष्ट सुरुवातका बाबजुद ६ विकेट गुमाउँदै २ सय ७४ रन नै बनाउँदै अंक बाँडेको थियो ।

नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । अमेरिकासँग टाई हुँदा नेपालले ओमानलाई ७ विकेटले हराएको थियो । अमेरिकाले पहिलो खेलमा ओमानलाई १ सय १४ रनले हराएको थियो । अमेरिका दोस्रो खेलमा ओमानसँग भने १३ रनले पराजित हुन पुगेको थियो ।

ओमानलाई हराउन नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेलले १ सय १४ रनको शतकीय साझेदारी गरेका थिए । दुबै ओपनर पूर्ण रुपमा फिट नभएपछि उच्च प्रदर्शन गरेका छन् । जुन सकरात्मक पक्ष हो । आसिफ शेखले अमेरिकाविरुद्ध ६१ र ओमानविरुद्ध ६२ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

यी दुबै ओपनरबाट नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । अर्धशतकलाई शतकमा परिणत गर्न खोज्नेछन् । देव खनाल तेस्रो, दीपेन्द्रसिंह ऐरी चौथो र रोहित पौडेल पाँचौं नम्बरमा हुनेछन् । रोहित र दीपेन्द्र नेपालका ब्याटिङका प्रमुख हतियार हुन् । आसिफ शेखले तल्लोक्रम सम्हाल्नेछन् । नेपालको ब्याटिङमा गहिराई छ ।

करण केसी र आदिल अन्सारी विष्फोटक ब्याटर हुन् । यी दुई ब्यारले एक ओभरमा खेललाई मोड्न सक्छन् । सोमपाल कामी पनि त्यतिनै राम्रो ब्याटिङको क्षमत राख्छन् । सन्दीप लामिछाने र सागर ढकाल स्पिन हतियार हुन् । सन्दीपलाई दोस्रो स्पिनरले राम्रो साथ दिन आवश्यक छ । सन्दीप बाहेक अन्य स्पिनरले पुरा स्पेल गर्न र विकेट लिन सकेका छैनन् ।

करणले ओमानविरुद्ध दुबै खेलमा पाँच पाँच विकेट पूरा गरेका थिए । करणको उच्च लय नेपाललाई धेरै फाइदा पुग्नसक्छ । सोमपाल कामीले अर्को एण्डबाट त्यतिनै राम्रो साथ दिन आवश्यक देखिन्छ । नेपालले आजको खेलमा टोलीमा परिवर्तन गर्ने सम्भावना भने कम छ ।

यता अमेरिका शीर्षक्रमका ब्याटर स्टिभन टेलर, आरोन जोन्स मोनाक पटेल र सुशान्त मोदानीमा बढी निर्भर छ । अमेरिका मध्यक्रम र तल्लोक्रम दुबै कमजोरीको रुपमा छ । ओपनर स्टिभन टेलर र मोनांक पटेलले नेपालविरुद्ध दोस्रो विकेटका लागि दुई सय रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । जुन कुनैपनि विपक्षी ब्याटरले नेपालविरुद्ध गरेको उच्च साझेदारी थियो ।

टेलरले नेपालविरुद्ध १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए । उनी राम्रो लयमा छन् । उच्च लयमा रहेका मोनांक पटेलले नेपालविरुद्ध ८५ रन र ओमानविरुद्ध १ सय ३० रनको शतकीय इनिङ खेलेका थिए । मोदानी र जोन्स पनि राम्रो लयमा छन् । अमेरिका अली खान, रस्टी थेरन र सौरभ नेत्रवालकरण तीव्र गतिका बलिङ हतियार हुन् ।

प्रतिक्रिया