
ब्युटी प्याजेन्ट’को नाममा नाबालिगमाथि जबर्जस्ती करणीको अभियोग लागेका मनोज पाण्डेलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाण्डेलाई सोमवार अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।
न्यायाधीश प्रकाश ढुंगानाको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो । यस्तै नाबालिगमाथि यौन दुर्व्यवहार मुद्दामा भने उनीसँग एक लाख धरौटी माग गरिएको छ ।
मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेमाथि एक किशोरीले सौन्दर्य प्रतियोगिताका क्रममा पटक–पटक जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।
प्रहरीले बलात्कार अभियोगमा हदम्यादका कारण उनलाई पक्राउ गर्न नमिल्ने भएपछि मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरेको थियो ।
आठ वर्षअघि भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी एक युवतीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेको थियो ।
पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेकी थिइन् ।
प्रतिक्रिया