
बुटवल । दाङमा मोटरसाइकलले दुईवटा साइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
गएराति पौने ९ बजे घोराहीदेखि सौंडियारतर्फ जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले घोराही–७ बेसाईमा सडकमा गुडिरहेका दुईवटा साइकलमा सवार चारजनालाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी साइकलयात्री घोराही उपमहानगरपालिका वडा नम्बर १५ का १६ वर्षीय रितेश केसी र मोटरसाइकल चालक घोराही १५ कै ३५ वर्षीय गंगाबहादुर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालका अनुसार घाइते दुईजनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो । उक्त दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार घोराही– ७ का ३८ वर्षीय बसन्त चौधरीको अवस्था गम्भीर छ। चौधरीको नाक, मुख र टाउकोमा गहिरो चोटपटक लागेको रिजालले बताए ।
उक्त घटनामा घाइते भएका साइकलमा सवार घोराही– १५ का विनोद भण्डारीको दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया