
काठमाडौं– अन्ततः अर्थमन्त्री जनार्दन शर्माले संसदबाटै राजीनामाको घोषणा गरेका छन्। आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि त्यसमा छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएसँगै उनले राजीनामा दिएका हुन्।
गठबन्धन सरकारमा माओवादीको कोटामा परेको अर्थ मन्त्रालय अब कसले लिन्छ भन्ने चासो देखिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री कांग्रेसबाटै बनाउनेगरी तयारी थालेका छन्। देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्थ मन्त्रालय कांग्रेसले लिने जनाउ दिइसकेका छन्।
मंगलबार साँझकै भेटमा अर्थमन्त्री शर्माले राजीनामा दिने र कांग्रेसले अर्थमन्त्री लिने सहमति भएको बुझिएको छ। यता माओवादी नेता नारायणकाजी श्रेष्ठलाई गृहसहित उपप्रधान दिनेगरी सहमति भएको समेत बालुवाटार स्रोतको भनाइ छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार संसदबाहिर निस्किएर अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएपछि राजनीतिक तहमा नयाँ तरंग सुरु भएको थियो।
माओवादीको केन्द्रिय समिति बैठक चलिरहेका बेला पनि यो विषयले पार्टीभित्र प्रवेश पाएको थियो। यता अर्थमन्त्रीबाट शर्मा फिर्ता भएसँगै माओवादीले गृह मन्त्रालय दाबी गर्ने र कांग्रेसले अर्थमन्त्री लिने भद्र सहमति समेत भएको बालुवाटार स्रोतको दाबी छ।
प्रधानमन्त्री देउवाले अर्थमन्त्री कांग्रेसकै तर्फबाट बनाएर बिग्रँदो अर्थतन्त्रमा सुधारको सकारात्मक सन्देश दिने प्रयास थालेका छन्। जसका लागि प्रधानमन्त्री देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई फिर्ता पठाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव गठबन्धनमा राखेका हुन्। प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्दा अर्थ मन्त्रालय कांग्रेसमा राखेर अन्य मन्त्रालयका विषयमा बाँडफाँट गरेर जानेगरी छलफल थालेपछि राजनीति तरंगित भएको छ।
कांग्रेसबाट हुने अर्थमन्त्रीका लागि दौडधुपसमेत सुरु भइसकेको छ। महामन्त्री गगन थापाले समेत अर्थमन्त्री पाए मन्त्री बन्ने चाहाना राखेको बुझिएको छ। मन्त्रिपरिषद् पुनर्गठन गरेर अर्थ मन्त्रालय कांग्रेसले लिएमा अर्थमन्त्रीका लागि उद्योगपति तथा सांसद बिनोद चौधरी, महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिएका डा. मिनेन्द्र रिजाल, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समेत दाबी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ। यता परराष्ट्रमन्त्री डा. नारायण खड्काले समेत अर्थमन्त्री बन्ने इच्छा देखाएका छन्। प्रधानमन्त्री देउवाले संकटोन्मुख अर्थतन्त्रलाई पार लगाउनेगरी अर्थ मन्त्रालयको जिम्मेवारी बदल्न खोजेकाले नयाँ बन्ने अर्थमन्त्रीका लागि चुनौती थपिने छ।
प्रतिक्रिया