
काठमाडौँ / नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकले एकीकृत कारोबारका लागि आफ्ना सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द गर्ने भएको छ ।
एक सूचनामार्फत यी बैंकहरूले असार २७ गते सोमबारदेखि एकीकृत कारोबार गर्ने भएको कारण शुक्रबारदेखि सोमबार कार्यालय समयअगाडिसम्म बैंकिङ कारोबार बन्द गर्ने जानकारी दिएको हो ।
सोमबारदेखि नै नेपाल बङ्गलादेश बैंकको केन्द्रीय कार्यालया तथा शाखा कार्यालयहरूले नबिल बैंक लिमिटेडको प्रादेशिक/शाखा कार्यालयको रूपमा कारोबार सञ्चालन गर्नेछन् ।
दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनका लागि असार २४ गते शुक्रबार कार्यालय समयपछिदेखि सोमबार बिहान कार्यालय समय अगाडिसम्म नबिल बैंकका सम्पूर्ण सेवा तथा कारोबार र असार २५ गते शनिबार सार्वजनिक बिदाको दिन सञ्चालन हुने सम्पूर्ण काउण्टर तथा अन्य बैंकिङ सेवा बन्द रहनेछ । उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने बैंकले जनाएको छ ।
त्यसैगरी नेपाल बङ्गलादेश बैंकको भने असार २३ गते बिहीबार कार्यालय समय पश्चात असार २७ गते सोमबार बिहान कार्यालय अगाडिसम्म सम्पूर्ण बैंकिङ सेवा तथगा कारोबार बन्द रहनेछ । उक्त समयमा नेपाल बङ्लादेश बैंकको क्रेडिट कार्ड भने सञ्चालन हुनेछ ।
नबिल बैंकले साविक नेपाल बङ्गलादेश बैंकबाट जारी भएको चेकलाई प्रतिस्थापन नगरेसम्म स्वीकार गर्ने व्यवस्था मिलाइएको जनाएको छ । नेपाल बङ्गलादेश बैंकले डेबिट/क्रेडिट/प्रिपेड कार्डहरू सोमबार बिहान कार्यालय समयपश्चात सुचारु हुनेछ । नेपाल बङ्गलादेश बैंकले जारी गरेका सबै प्रकारका कार्डहरू क्रमिक रूपमा प्रतिस्थापन गर्न ग्राहकहरूलाई सुचीत गरी नयाँ कार्डहरू उपलब्ध गराइने बताइएको छ ।
यी दुबै कम्पनीको गत जेठ ७ गते सम्पन्न विशेष साधारण सभाबाट प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित भएको थियो । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा प्राप्ति गरेको हो । हाल नबिल बैंकको चुक्तापूँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ छ भने नेपाल बङ्गलादेश बैंकको १० अर्ब ८ करोड ५३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
नबिल बैंकले नेपाल बङ्गलादेश बैकलाई प्राप्ति पश्चात बैकको प्राथमिक पूँजी ४३ अर्ब रुपैयाँ चुक्तापूँजी २२।५ अर्ब रुपैयाँ, कर्जा रकम ३०० अर्ब रुपैयाँ, निक्षेप रकम ३१४ रुपैयाँ हुनेछ ।
गैरकोषमा आधारित व्यवसायको आकार १३० अर्ब रुपैयाँ माथि हुनेछ । शाखा सञ्जाल तत्कालै २३५ पुग्नेछन् । हाल नबिल बैंकको शाखा १३५ वटा छन् भने एटिमएम १८५ वटा छन् ।
यस्तै नेपाल बङ्गलादेश बैंकको शाखा ९९ वटा र एटिएम ८१ वटा छन् । नबिलले प्राप्ति गरेपछि बैंकको नाम नबिल बैंक नै रहनेछ । कर्मचारी व्यवस्थापन तथा अन्य केही प्राविधिक विषय भने टुङ्गो लगाउन बाँकी छ । ग्राहक संख्या १६ लाख माथि हुनेछ ।
प्रतिक्रिया