
सर्लाही — स्रोत नखुलेको रुपैयाँसहित शुक्रबार अपराह्न एक भारतीयलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य सितामढी जिल्ला ग्राम पञ्चायत सोनवर्षाका अवधेश कुमार रहेका छन् ।सीमा क्षेत्रबाट पक्राउ परेका कुमारको साथबाट नेपाली रुपैयाँ ५ लाख १० हजार ८ सय तथा भारतीय २ हजार २ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । कुमारले आफूसँग रहेको रकमको स्रोत जुटाउन नसकेको प्रहरीको भनाइ छ । भारतीय नागरिक कुमार शुक्रबार अपराह्न भारतको सोनवर्षा बजारबाट बीआर ३० एक्स ३४६६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल तर्फ आउँदै गर्दा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । खुट्टामा पट्टी बाँधी मोटरसाइकल चलाएर आएका कुमारलाई शंका लागि जाँच गर्दा पट्टीभित्र ठूलो रकम बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गणका गणपति भरत खनियाँले जानकारी दिए ।कुमारको साथबाट पोको ब्रान्डको दुई थान मोबाइलसमेत बरामद गरिएको छ । बरामद गरिएको नगद, मोटरसाइकल र मोबाइल सेटको गरी जम्मा ६ लाख ६८ हजार रुपैयाँ कायम गरी मलंगवा भन्सारमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक खनियाँले बताए ।
प्रतिक्रिया