
आईसीसी विश्वकप लिग–२ अन्तर्गत चौथो खेलमा स्कटल्याण्डविरुद्ध नेपाल १२८ रनमै समेटिएको छ । ग्लासगोस्थित टिटवुडमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाएर १२८ रन मात्र जोड्न सक्यो । नेपालका लागि आसिफ शेखले ५८ बलमा ६ चौकासहित सर्वाधिक ४० रन बनाए ।
त्यस्तै, विनोद भण्डारी १३, देव खनाल, रोहितकुमार पौडेल १०/१०, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी सात/सात, कुशल भुर्तेल तीन रनमा आउट भए । आरिफ शेखले खाता खोल्न सकेनन् । कप्तान सन्दीप लामिछानेले आज उत्कृष्ट पारी खेले । सिनियर ब्याटर संघर्ष गरिरहेको बेला उनले २७ बलमा तीन चौकाको मद्दतमा २२ रनको योगदान दिए ।
हम्जा ताहिरले चार, मार्क वाटले तीन, केभिन मेनले दुई र क्रिस्टोफर म्याकब्राइडले एक विकेट लिए । आजको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । नेपालले पवन सर्राफ, बसिर अहमद र मोहम्मद आदिल आलमलाई विश्राम दिएर करण केसी, विनोद भण्डारी र किशोर महतोलाई मौका दिएको हो । किशोरको यो डेब्यू म्याच हो । सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो
नेपाल स्कटल्याण्डविरुद्ध लगातार दोस्रो जित निकाल्न चाहन्छ । सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई १४४ रनमै अलआउट गरेको थियो । सो खेलमा स्कटल्याण्डले दिएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा पूरा गर्यो । नेपाल आइतबार पनि सोही लय कायमै राख्ने लक्ष्यमा हुनेछ ।
स्कटल्याण्ड नेपालविरुद्ध बदला लिन चाहन्छ । घरेलु मैदानको फाइदा उठाउँदै खेलमा कमब्याक गर्ने लक्ष्यमा रहेको नामिबियाले अघिल्लो खेलमा नामिबियालाई ३ विकेटले हराएको थियो । नेपाल भने नामिबियाविरुद्ध लगातार दुई खेलमा हार बेहोरेको छ । पहिलो खेलमा नामिबियाविरुद्ध नेपाल ४० रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ६३ रनले पराजित हुन पुग्यो ।
लिग–२ मा स्कटल्याण्डले २३ म्याच खेल्दा १५ मा जित र ६ खेलमा हार बेहोरेको छ । उसले दुई खेलमा अंक बाँडेको छ । ३२ अंक जोडेको स्कटल्याण्ड तालिकाको दोस्रो स्थानमा छ । नेपालले १९ म्याचमा आठमा जित र १० खेलमा हारको सामाना गरेको छ । एक खेल भने नेपालले बराबरी खेलेको छ ।
१७ अंकका सात नेपाल तालिकाको छैटौँ स्थानमा छ । पाँचौं स्थानमा रहेको नामिबियाले १८ म्याचमा नौमा जित र नौ खेलमा हारको सामना गरेको छ । लिग–२ मा सात टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष तीनमा रहने टोली सिधै आउँदो वर्षको विश्वकप छनोट खेल्न पाउने छन् ।
प्रतिक्रिया