
काठमाडौं- आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत भएको सम्बोधनले सेयर बजारमा साताको पहिलो कारोबारमा उत्साह देखिएको छ। उतारचढाव देखिइरहेको बजारमा लगानीकर्ताको विश्वास फर्किएसँगै बजारमा उछाल देखिएको हो।
आइतबार ६१.०५ अंकले बढेर बजार २०७८.५१ बिन्दुमा पुगेको छ। आइतबार कारोबार रकममा पनि केही सुधार देखिएको छ। २ अर्ब ७३ करोड रुपैयाँको कारोबार हुँदा १७९ कम्पनीको सेयर मूल्य बढेको छ। जसमा युनिलिभर नेपालको सेयर मूल्यमात्रै घटेको छ।
गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारलाई केही सहज हुनेगरीका व्यवस्था ल्याएसँगै बजारमा सुधार देखिएको र यसलाई दीर्घकालीन बनाउन अन्य समस्याहरू समाधान हुँदै जानुपर्ने विश्लेषकहरू बताउँछन्। नयाँ मौद्रिक नीतिपछि उत्साह देखिएको भए पनि बैंकमा निक्षेपको अभावले दबाब नै भएकोले अहिले नै बजारको दिशा यकीन गर्न मुस्किल हुने उनीहरू बताउँछन्।
गएको साता आइतबार १.९३ अंकले बढेको सेयर बजारमा सोमबार १८.०३ अंकको वृद्धि देखिएको थियो। मंगलबार १६.२० अंकले बढेको बजारमा बुधबार ४.८९ को सुधार देखियो। बिहीबार ५.८७ अंकले घटेको बजार शुक्रबार आधा दिनको कारोबारमै २७.२६ अंकले घटेको थियो।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नै आर्थिक विस्तारलाई सीमित गर्ने लक्ष्य निर्धारण गरेको भए पनि पुँजी बजारका लागि सहज हुने ठानिएका केही परिवर्तनहरू भने गरेको छ।
प्रतिक्रिया