
एजेन्सी – मध्यक्रमका ब्याटर जोनी बेयरस्टो र मोईन अलीको विष्फोटक ब्याटिङमा इंग्ल्यान्डले पहिलो टि२० आईमा खेलमा दक्षिण अफ्रिकालाई ४१ रनले पराजित गरेको छ । घरेलु टोली इंग्ल्यान्डले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।जितको लागि २ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९३ रन बनायो । दक्षिण अफ्रिकाको लागि २१ वर्षीय मध्यक्रमका ब्याटर ट्रिस्टन स्टब्सले २८ बलमा २ चौका र ८ छक्कासहित ७२ रनको विष्फोटक पारी खेले ।
करिअरको तेस्रो खेल भएपनि उनले पहिलो पटक ब्याटिङको अवसर पाएका थिए । उनले १९ बलमा ६ छक्का हान्दै अर्धशतक पूरा गरेका थिए । स्टब्सले विष्फोटक इनिङ खेलेपनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिकाको सुरुवात नै भने राम्रो रहेन ।
सुरुवाती ७ रन बनाउँदा ओपनर क्विन्टन डि ककलाई दुई र राइली रोसवोलाई चार रनमा गुमाएको थियो । ओपनर रिजा हेन्ड्रिक्स ३३ बलमा ९ चौका र १ छक्कासहित ५७ रनमा आउट भए । हेनरिक क्लासेन २० र एन्डियो फेहकुवओ २२ रनमा आउट भए । कप्तान डेविड मिलर भने १२ खेल खेल्दै आठ रनमा आउट भए ।
इंग्ल्यान्डका तीव्र गतिका बलर रिचर्ड ग्लेसनले ४ ओभरमा ५१ रन खर्चेर तीन विकेट लिए । रिस टोप्ली र आदिल राशिदले दुई दुई विकेट लिए । मोईन अलीको नाममा एक विकेट रह्यो ।
त्यसअघि काउन्ट्री ग्राउन्ड बिस्टलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३४ रन बनायो । टि२० आईमा यो इंग्ल्यान्डको दोस्रो ठूलो योगफल हो । यसअघि २०१९ मा न्युजिल्यान्डविरुद्ध २ सय ४१ रन बनाएको थियो ।
इंग्ल्यान्डका जोनी बेयरस्टोले ५३ बलमा ३ चौका र ८ छक्कासहित ९० रनको उत्कृष्ट इनिङ खेले । उनको यो टि२० आई करिअरको उत्कृष्ट प्रदर्शन समेत हो । मोईन अलीले मात्र १८ बलमा २ चौका र ६ छक्कासहित ५२ रनको इनिङ खेले । अलीनै खेलको प्लेयर अफ द म्याच चुनिए ।
इंग्ल्यान्डले अन्तिम १० ओभरमा १ सय ३६ रन जोडेको थियो । चौथो विकेटका लागि मोईन अली र जोनी बेयरस्टोले ३७ बलमा १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए । ओपनर जेसन रोय ८ र जस बटलर २२ रनमा आउट भएका थिए ।
बटलरले ७ बलमा २ चौका र २ छक्का प्रहार गरे । डेविड मलान २३ बलमा १ चौका र ४ छक्कासहित ४३ रनमा आउट भए । १७ औं ओभरमा अली र बेयरस्टोले एन्डिलो फेहलुकवयोलाई एकै ओभरमा पाँच छक्का हानेका थिए । इंग्ल्यान्डबाट २० र दक्षिण अफ्रिकाबाट ९ गरि कुल २९ छक्का प्रहार भएको थियो ।
दक्षिण अफ्रिका लुन्गी एनगिडीले ४ ओभरमा ३९ रन खर्चेर ५ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा ३० रन खर्चिए । दोस्रो खेल आज राती कार्डिफमा हुनेछ ।
प्रतिक्रिया