
वीरगञ्ज, १२ साउन । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरणमा ढिलाइ हुने संकेत देखिएको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कानूनको रुपमा कार्यान्वयन हुनेछ । प्रतिनिधि सभाबाट बहुमतले पारित भएको नागरिकता सम्बन्धी संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको हो ।
गठबन्धन सरकारले आसन्न चुनावमा जानु अगावै मधेशको बहुप्रतिक्षित मुद्दालाई सम्बोधन गरेको छ ।सरकारले नागरिकता सम्बन्धी विधेयक पारित गरे पनि त्यसको प्रमाणीकरणमा ढिलाइ हुन सक्ने संभावना देखिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सम्पादकहरूसँगको अन्तरक्रियामा सरकारले विधि सम्मत ढंगले पठाएपछि अध्ययन गरी संविधानको अनुसार निर्णय लिने धारणा व्यक्त गरिन् । प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग शीतल निवासमा भएको अन्तरक्रियामा राष्ट्रपतिले सम्पादकहरुको प्रश्नको जवाफदिदै सरकारले विधिसम्मत ढंगले पठाएपछि आफूले अध्ययन गरेर आवश्यक निर्णय लिने बताइन् ।
प्रतिनिधिसभाबाट पारित भएको विधेयक प्रमाणीकरणका बेला राष्ट्रपतिले फिर्ता पठाउन सक्नेसम्मको चर्चा भइरहेको बेला उनले यस विषयमा अध्ययन गरेर संविधानअनुसार निर्णय लिने बताएकी हुन् । अन्तरक्रियामा नागरिकता विधेयकको विषयमा सम्पादकहरुले जिज्ञासा राखेका थिए । तर राष्ट्रपतिले यस विषयमा स्पष्ट जवाफ दिइनन् ।
प्रतिक्रिया