
एजेन्सी – भारतले चौथो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ५९ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । भारतले पाँच टि२० आई सिरिजमा ३-१ को अग्रता लिएको छ ।जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९.१ ओभरमा १ सय ३२ रनमा अल आउट भयो । वेस्टइन्डिजका कप्तान निकोलस पुरन र रोभम्यान पावेलले सर्वाधिक २४–२४ रन बनाए । पुरनले ८ बलमा १ चौका र ३ छक्का प्रहार गरे । पावेलले १६ बलमा १ चौका र २ छक्का हाने ।
ओपनर ब्रेन्डन किंग १३, काइल मेयर्स १४, डेभन थोमस एक, शिम्रन हेटमायर १९ र जेसन होल्डर १३ रनमा आउट भए । भारतका अर्शदीप सिंहले ३.१ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । आवेश खानले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । अक्षर पटेल र रवि विश्रोईको नाममा दुई दुई विकेट रह्यो ।
त्यसअघि फ्लोरिडामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । भारतका सञ्जु स्यामसन २३ बलमा २ चौका र १ छक्कासहित ३० रनमा अविजित रहे । अक्षर पटेल ८ बलमा २ छक्का र १ चौकासहित २० रनमा अविजित रहे । विकेटकिपर ऋषभ पन्त ३१ बलमा ६ चौकासहित सर्वाधिक ४४ रनमा आउट भए ।
भारतलाई ओपनर रोहित शर्मा र सूर्यकुमार यादवले ४।४ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर अकिल हुसैनले रोहितलाई १६ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा बोल्ड आउट गरे । अल्जारी जोशेफले सूर्यलाई २४ रनमा एलबीडब्लू आउट गरे । उनले १४ बलमा १ चौका र २ छक्का प्रहार गरे । दीपक हुडा १९ बलमा २ चौकासहित २१ रनमा आउट भए ।
अल्जारी जोशेफले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ओबेद म्याकोयले ४ ओभरमा ६६ रन खर्चेर २ विकेट लिए । यो वेस्टइन्डिजबाट टि२० आईमा सबैभन्दा खराब प्रदर्शन हो । भारतसँग दोस्रो खेलमा ६ विकेट लिँदै म्यायकोय टि२० आईमा वेस्टइन्डिजबाट उत्कृष्ट प्रदर्शन गर्ने बलर समेत बनेका थिए ।
भारत पहिलो खेलमा ६८ रनले विजयी भएको थियो । दोस्रो खेलमा भारत ५ विकेटले पराजित हुँदा तेस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । पाँचौं तथा अन्तिम खेल आज राती हुनेछ ।
प्रतिक्रिया