Pura Samachar

म्यानचेस्टर सिटीले सिजन २०२२-२३ को लिगमा विजयी सुरुवात

प्रकाशित: August 8, 2022
पूरा समाचार

म्यानचेस्टर सिटीले सिजन २०२२-२३ को लिगमा विजयी सुरुवात

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ हालान्डले प्रिमियर लिग डेब्युमै दुई गोल गरेपछि म्यानचेस्टर सिटीले सिजन २०२२-२३ को लिगमा विजयी सुरुवात गरेको छ । सिटीले वेस्ट ह्याम युनाइटेडको मैदानमा २-० को जित दर्ता गर्यो ।हालान्डले लिगको पहिलो खेलको दुवै हाफमा १-१ गोल गर्दै सिटीलाई जित दिलाए । उनले खेलको ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । इल्काए गुन्डोगनको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिएपछि उनलाई गोलरक्षकले लडाउँदा रेफ्रीले पेनाल्टी दिएका थिए । हालान्डले पेनाल्टीमा गोल गर्दै प्रिमियर लिगमा खाता खोले ।

दोस्रो हाफको ६५ औं मिनेटमा सुन्दर फिनिस गर्दै हालान्डले सिटीको अग्रता दोब्बर पारे । केभिन डे ब्रुएनले दिएको थ्रु पासलाई हालान्डले अफसाइड ट्रयाप बिट गर्दै पहिलो टचमै फिनिस गरेका थिए । उनले ह्याट्रिक पूरा गर्ने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।

त्यसअघि सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले भने हार बेहोर्यो । घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेड ब्राइटनसँग २-१ ले पराजित भएको हो ।

ब्राइटनको जितमा जर्मन मिडफिल्डर पास्कल ग्रसको दुई गोल गरे । युनाइटेडका लागि एलेक्स मक्कलिस्टरले गरेको आत्मघाती गोल सान्त्वना सावित भयो । ३० औं मिनेटमा ड्यानी वेल्बेकको पासमा पास्कल ग्रसले गोल गरे । त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर पार्यो । डेविड डे हेयाले बचाएको रिबाउन्डमा ग्रसले सहजै गोल गरे ।

प्रशिक्षक एरिक टेन हागले आजको खेलमा फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेका थिए । रोनाल्डोले प्रि-सिजनमा अष्ट्रेलिया भ्रमण गुमाएपछि अन्तिम मैत्रीपूर्ण खेलमा पहिलो हाफ खेलेका थिए । उनी रायो भालेकानोविरुद्ध मैत्रीपूर्ण खेलको दोस्रो हाफमा मैदान छाडेर बाहिरीएपछि निकै आलोचना समेत भएको थियो । प्रशिक्षक टेन हागले यसबारे आफू असन्तुष्ट रहेको समेत बताएका थिए ।

दोस्रो हाफमा रोनाल्डो मैदान प्रवेश गरेका थिए । तर उनले गोल गर्न भने सकेनन् । ६८ औं मिनेटमा ब्रुनो फर्नान्डेसको कर्नर क्लियर गर्ने प्रयासमा ब्राइटनका खेलाडी एक आपसमा जुध्दा बल आफ्नो पोस्टमा छिरेको थियो ।

आज भएको दोस्रो खेलमा लेस्टर सिटी र ब्रेन्टफर्डले २-२ को बराबरी खेले । लेस्टरले २-० को अग्रता लिएपनि खेल जित्न सकेन । लेस्टरका लागि टिमोथी कास्टाग्न र किएर्नान देज्बरी हलले गोल गर्दा ब्रेन्टफर्डका इभान टोनी र जोस डा सिल्भाले गोल फर्काए ।

प्रतिक्रिया