Pura Samachar

प्रतिनिधि सभा बैठक आज बस्दै

प्रकाशित: August 16, 2022
पूरा समाचार

प्रतिनिधि सभा बैठक आज बस्दै

प्रतिनिधि सभा बैठक आज बस्दै छ। संघीय संसद सचिवालयका अनुसार मंगलबार (३१ साउन) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।

मंगलबार बैठकमा प्रतिनिधिसभा सचिवले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक सन्देश सहित फिर्ता भएको सम्बन्धी जानकारी गराउने कार्यसूची रहेको छ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकसहित फिर्ता पठाएको सन्देशबारे संसद सचिवालयका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभालाई जानकारी गराएसँगै यसमाथि छलफल अघि बढ्ने छ।

नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता भएपछि आज पहिलो प्रतिनिधिसभा बैठक बस्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार पुनर्विचार गर्न ९ पृष्ठको सन्देशसहित विधेयक फिर्ता पठाएकी थिइन्।

साउन १५ मा संघीय संसदका दुवै सदनबाट पारित विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि आइतवार साँझ प्रतिनिधि सभामै फिर्ता पठाइदिएकी थिइन्। राष्ट्रपति कार्यालयको पत्र सोमबार संघीय संसद सचिवालय पुगेसँगै यसबारे फेरि छलफल अघि बढ्ने भएको हो।

त्यसैगरी अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गर्ने, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ लाई पारितका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

स्टान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक दफावार छलफलका लागि प्रस्ताव गर्ने र आजै पारितका लागि प्रस्ताव गर्ने, प्रत्यायन विधेयकमाथिको दफावार छलफल र पारितका लागि सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया