Pura Samachar

विभिन्न स्थानमा बुधबार राति दुईजनाको मृत्यु

प्रकाशित: August 18, 2022
पूरा समाचार

विभिन्न स्थानमा बुधबार राति दुईजनाको मृत्यु

विराटनगर- मोरङका विभिन्न स्थानमा बुधबार राति दुईजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार सुनवर्षी नगरपालिकामा सर्पले टोकेर र सुन्दरहरैंचा नगरपालिकामा आगलागीबाट दुईजनाकाे मृत्यु भएको हो।

प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले सुनवर्षी नगरपालिका ९ डाइनियामा सर्पले टोकेर २९ वर्षीय सञ्जय सिंहको मृत्यु भएको जानकारी दिए।

कामबाट घर फर्कने क्रममा सिंहलाई राति करिब १२ बजे सर्पले सिंहको खुट्टामा सर्पले टोकेको उनको भनाइ छ।

उनलाई उपचारकाे लागि रंगेली अस्पताल पुर्‍याउने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ।

प्रहरीले अहिलेको समय घरवरिपरि जमिनमा देखिएका प्वाल पुर्नुपर्ने, झार जंगल बढ्न नदिन र रातिको समय घरबाहिर निस्कँदा बत्तीको प्रयोग गर्न आवश्यक भएको जनाएको छ।

त्यसैगरी, सुन्दरहरैंचा नगरपालिका बेलेपुरमा राति आगलागी हुँदा घरमा सुतिरहेका १ पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय बालकृष्ण गिरीको घरमा राति आगलागी हुँदा सुन्दरहरैंचा ११ का ३८ वर्षीय कुमार श्रेष्ठको जलेर मृत्यु भएको हाे।

घर रंगरोगनको काम गर्दै आएको श्रेष्ठ विगत ३ दिनदेखि गिरीको घरमा बसोबास गर्दै आएका थिए। आगलागीपछि उनको शव जलेर चिन्न नसकिने अवस्थामा रहेको थियो।

राति करिब ११ बजे लागेको बिहान २ बजेपछि मात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

सुन्दरहैंचा, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, बेलबारी नगरपालिकाबाट ४ वटा वारुणयन्त्र आगलागी नियन्त्रणका लागि पुगेका थिए।

करिब २२ लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएकाे आगोले घरसँगै राखिएका लत्ताकपडा, सरसामग्रीलाई पूर्णरूपमा क्षति पुर्‍याएकाे छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने जनाएको छ।

प्रतिक्रिया