Pura Samachar

सेयर बजार यस साता २०६८ बिन्दुमा पुग्यो

प्रकाशित: August 19, 2022
पूरा समाचार

सेयर बजार यस साता २०६८ बिन्दुमा पुग्यो

यस साता समूहगत परिसूचकहरूमध्ये जीवन बीमा, लगानी र उत्पादन मुलक समूहको परिसूचकमा उच्च गिरावट आएको छ।

अपर हेवा खोलाका लगानीकर्ताले एकै सातामा ५८ प्रतिशत लाभ पाएका छन्। त्यस्तै, सामूहिक लगानी कोष एनएमबी ५० का लगानीकर्ताहरूले सबैभन्दा धेरै नोक्सान व्यहोरेका छन्। यसमा २०.७ प्रतिशतले गिरावट आएको हो। सेयर संख्या र कारोबार रकमको आधारमा रिडी हाइड्रोपावर अग्रस्थानमा छ। कम्पनीको यस साता ७० करोड रुपैयाँको सेयर कारोबार भएको हो।

बजारमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरण सार्वजनिक भइसकेको र लाभांश प्राप्त गर्ने अवधि नजिकिने भएकोले पनि बजार धेरै घट्न सकेको छैन।

कम्पनीहरूले आगामी दिनमा घोषणा गर्ने लाभांश दरको आधारमा बजारको गति निर्धारण हुनेछ। हाललाई भने बजार स्थिर दिशामा अगाडी बढ्ने सम्भावना छ। केही समयदेखि नेप्से निश्चित सीमाभित्र घटबढ भएर साइडवेज मुभमेन्ट प्रवृत्तिमा गइरहेको छ।

प्राविधिक विश्लेषण :
नेप्सेको रेखाचित्रमा बनाइएको ७ दिने र २१ दिने मुभिङ एभरेज विश्लेषणको आधारमा भने बजार गत आइतबारबाट वियरिश (घट्दो) प्रवृत्तिमा प्रवेश गरेको छ।

२१ दिने मुभिङ एभरेज रेखाले ७ दिने रेखालाई काटेर माथि लागेको छ। यसरी २१ दिने रेखाले ७ दिने रेखालाई काटेर माथि लागेमा वियरिश प्रवृत्तिमा पुग्छन्। ७ दिने रेखाले २१ दिने रेखालाई काटेर माथि लाग्ने प्रयास गरेमा भने बुलिश (बढ्ने) प्रवृत्ति सुरू हुने मानिन्छ ।

नेप्सेको मैनवत्ति चित्रमा अन्तिम तीन दिनमा पहिलो दिन बजार घटेर लामो कालो (रातो) आकारको मैनवत्ति चित्र बनेको थियो भने दोस्रो दिन डोजी आकृति बनेर अन्तिम दिन बजार बढ्ने सम्भावना देखाएको थियो।

फलतः अन्तिम दिन बजार सूचक नेप्से बढ्यो पनि। तर, अन्तिम दिन बनेको सेतो (हरियो) मैनवत्ति चित्रले त्यसअघि बनेको रातो मैनवत्तिको शरीर समेत पार गर्न सकेन। यसले बजारमा वियरिश प्रवृत्तिले नै बढी दबाब दिइरहेको संकेत गरिरहेको छ।

बजार अधिक बिक्रीको अवस्थामै रहेको नेप्सेको १४ दिने आरएसआई सूचकले संकेत गरिरहेको छ। बिहीबार यो सूचक २९.७१ बिन्दुमा छ।

आरएसआई सूचक ३० मुनि भएमा बजार अवमूल्यन भएको र ७० माथि भए अधिकमूल्यन भइरहेको र ३० देखि ७० बीचमा रहे सन्तुलित अवस्थामा रहेको विश्लेषण गरिन्छ। यद्यपी बुधबार नेप्सेको यस्तो सूचक २३.२८ सम्म पुगेर फर्किएकोले बजारमा सन्तुलन कायम हुन खोजिरहेको देखिन्छ।

प्रतिक्रिया