Pura Samachar

वाम गठबन्धनको सम्भावना नरहेको एकढीक्का भएर चुनावको सामना गर्ने एमालेकाे निर्णय

प्रकाशित: August 23, 2022
पूरा समाचार

वाम गठबन्धनको सम्भावना नरहेको  एकढीक्का भएर चुनावको सामना गर्ने एमालेकाे निर्णय

काठमाडौं – नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ। वाम गठबन्धनको सम्भावना नरहेको भन्दै एकढीक्का भएर चुनावको सामना गर्ने एमाले निर्णय गरेको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी १० गतेबाट बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका बारेमा ब्रिफिङ गरेका छन् ।

बैठकमा यसअघि सचिवालय बैठकले गरेका निर्णयहरु अनुमोदन गर्दै आगामी केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका बारेमा ब्रिफिङ गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुव्वा गुरुङले जानकारी दिए ।

स्थायी कमिटीको बैठकमा घनश्याम भुसाल लगायत केही नेताले वाम गठबन्धनको पहल गर्नुपर्ने बताए पनि आफूलाई वामपन्थी भन्नेहरु कांग्रेस छाडेर फर्किने अवस्थामा नरहेकाले त्यसमा अलमलिन नहुने निष्कर्ष बैठकले निकालेको छ ।

ओलीले आफ्नो प्रतिवेदनमा खासगरी राष्ट्रिय अन्तराष्ट्रिय अवस्था, देशभित्रको शक्ति सन्तुलनको अवस्था, सरकारको गलत नीति क्रियाकलाप र पार्टी संगठनका साथै आगामी दिनमा गर्नुपर्ने कामका विषयलाई समेट्ने भएका छन् । प्रचार विभाग प्रमुख गुरुङले यसअघि बसेका सचिवालय बैठकले गरेका निर्णयका साथै थप अध्यक्षको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तावका रुपमा लैजाने एजेण्डा थपिएको बताए ।

‘राजनीतिक प्रतिवेदनमा के के आउँछ भनेर अध्यक्षले ब्रिफिङ गर्नुभयो, त्यसबाहेक सचिवालय बैठकका निर्णय अनुमोदन गर्ने काम भयो’, गुरुङले जानकारी दिए ।

एमालेले उम्मेदवार छनोटको मापदण्डको प्रस्ताव पनि केन्द्रीय कमिटीमै पेश हुने भएको छ । ‘उम्मेदवार छनोटको मापदण्ड केन्द्रीय कमिटीमै पेश हुन्छ’, गुरुङको भनाइ छ ।

बैठकमा घनश्याम भुसाल, रघुजी पन्त, हिक्मत कार्की, शेरधन राई, शेरवहादुर तामाङ लगायतका नेताहरुले धारणा राखेका थिए । गण्डकी बाहेक ६ वटा प्रदेशका इन्चार्जले त्यहाँको शक्ति सन्तुलनको अवस्थाबारे रिपोर्टिङ गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारको मापदण्ड प्रस्ताव गरेको छ । सो प्रस्तावमाथि सबैको सुझाव लिएर केन्द्रीय कमिटीले पारित गर्ने गुरुङले बताए ।

बैठकमा प्रदेश १ का पूर्वमुख्यमन्त्री समेत रहेका नेता शेरधन राईले स्थानीय चुनावमा देखिएका कमजोरी दोहोरिन नदिने गरी पार्टीभित्र अध्यक्ष केपी ओलीको स्वरमा सबैको एक स्वर हुनुपर्ने बताएका थिए । उनले पार्टी पंक्तिलाई अन्योल हुने अभिव्यक्ति दिन नहुने भन्दै अध्यक्षको स्वरमा सबैको एकमत हुनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया