
एजेन्सी – स्पिनर राशिद खान र मुजिब उर रहमानको उत्कृष्ट बलिङमा अफगानिस्तानले टि२० एसिया कप २०२२ मा बंगलादेशलाई ७ विकेटले हराउँदै सुपर फोरमा स्थान बनाएको छ । समूह बी बाट अपराजित रहँदै अफगानिस्तान सुपर फोरमा पुग्ने पहिलो टोली बनेको हो ।जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अफगानिस्तानका नाजिबउल्लाह जद्रान १७ बलमा १ चौका र ६ छक्कासहित ४३ रनमा अविजित रहे । इब्राहिम जद्रान ४१ बलमा ४ चौकासहित ४२ रनमा अविजित रहे ।
ओपनर हज्रतुल्लाह जजाई २३, रमानउल्लाह गुरबाज ११ र मोहम्मद नाबी ८ रनमा आउट भए । बंगलादेशका सकिब अल हसन, मोसाद्देक हसन र मोहम्मद सैफुद्दिनले एक एक विकेट लिए ।
त्यसअघि शारजाहमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । बंगलादेशका मोसाद्देक हसनले ३१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४८ रनमा अविजित रहे । महमुदूल्लाह रियाद २५, अफिफ हुसैन १२ र माहेदी हसन १४ रनमा आउट भए ।
अफगानिस्तानका राशिद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । मुजिब उर रहमानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए ।
समूह बी बाट अव श्रीलंका र बंगलादेश मध्य एक सुपर फोरमा पुग्नेछन् । श्रीलंकाको नेटरनरेट माइनस ५.१७६ हुँदा विशाल जित निकाल्नुपर्ने हुन्छ । यता समूह ए मा भारत, पाकिस्तान र हङकङ छन् । पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । आज भारत र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया