Pura Samachar

अष्ट्रेलियामाथि जिम्बावेको जित

प्रकाशित: September 3, 2022
पूरा समाचार

अष्ट्रेलियामाथि जिम्बावेको जित

एजेन्सी – स्पिनर रयान बर्लको पाँच विकेटको सहयोगमा जिम्बावेले तेस्रो ओडिआई खेलमा घरेलु टोली अष्ट्रेलियालाई ३ विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज जिम्बावेले २–१ ले गुमाएको छ ।

जितको लागि १ सय ४२ रनको मध्यम लक्ष्य पछ्याएको जिम्बावेले ३९ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेको जितमा ओपनर तडिवानासे मारुमानीले ४७ बलमा ४ चौकासहित ३५ रन बनाए । कप्तान रेजिस चकभाले ७२ बलमा ३ चौकासहित सर्वाधिक ३७ रनमा अविजित रहे ।

टोनी मुनयोंगा १७, सिकन्दर राजा ८, रयान बर्ल ११ र सेन विलियम्स शून्यमा आउट भए । अष्ट्रेलियाका जोश हेजलवुडले १० ओभरमा २ मेडनसहित ३० रन खर्चेर ३ विकेट लिए । क्यामरन ग्रिन, मार्कस स्टोइनिस र एश्टन अगरले एक एक विकेट लिए ।

त्यसअघि टोनी आयरल्यान्ड स्टेडियम टाउन्सविलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ३१ ओभरमा १ सय ४१ रनमा अल आउट भएको थियो । ओपनर डेविड वार्नर ९६ बलमा १४ चौका र २ छक्कासहित सर्वाधिक ९४ रनमा आउट भए । वार्नर बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

कप्तान आरोन फिन्च ५, स्टिभ स्मिथ १, एलेक्स केरी ४, मार्कस स्टोइनिस र क्यामरन ग्रिन ३–३ रनमा आउट भए । ग्लेन म्याक्सवेल २२ बलमा ३ चौकासहित १९ रनमा आउट भए ।

जिम्बावेका लेगस्पिनर रयान बर्लले ३ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । ब्राड इभान्सले ६ ओभरमा १ मेडनसहित ३५ रन खर्चेर २ विकेट लिए । अष्ट्रेलिया पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा ८ विकेटले विजयी हुँदै सिरिज एक खेल अगावै जितेको थियो ।

प्रतिक्रिया