
काठमाडौं । नेपालले श्रीलंकामा जारी साफ यू-१७ पुरुष फुटबलमा विजयी सुरुआत गरेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा बुधबार राति भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।
यस जितसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ । नेपालको जितसँगै भारत पनि अन्तिम चारमा पुगेको छ । लगातार दुई खेल हारेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ । यस अघि भुटान भारतसँग ३-० ले पराजित भएको थियो ।
समूह ‘बी’ मा रहेको नेपालले १ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको दोस्रो स्थानमा रहेको छ । भुटान २ खेलमा अंक विहीन रहेर पुछारमा रहेको छ । भारत ३ अंक जोडेर शीर्ष स्थानमा छ । अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भारतसँग शुक्रबार खेल्नेछ ।
यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ । सोमबार भएको उद्घाटन खेलमा भुटानलाई भारतले ३-० गोल अन्तरले हराएको थियो । नेपाल सन् २०१३, २०१७ र २०१७ गरी तीन पटक फाइनल प्रवेश गरे पनि तीनै पटक भारतसँग निराश भएको थियो ।समूह ‘बी’मा नेपालसहित भुटान र भारत तथा समूह ‘ए’ मा श्रीलंका र माल्दिभ्स रहेका छन् ।
प्रतिक्रिया