Pura Samachar

श्रीलंकामा सम्पन्न साफ यू–१७ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता

प्रकाशित: September 15, 2022
पूरा समाचार

श्रीलंकामा सम्पन्न साफ यू–१७ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता

काठमाडौं । श्रीलंकामा सम्पन्न साफ यू–१७ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । बुधबार कोलम्बोस्थित रेस कोर्स ग्राउन्डमा सम्पन्न फाइनल खेलमा भारतसँग ४–० ले पराजित भएपछि नेपाल उपविजेता बनेको हो । समूह चरणमा भारतलाई ३–१ ले हराए पनि फाइनलमा भने सोही लय कायम राख्न सकेन ।

भारतले भने समूह चरणको बदला लियो । फाइनलमा उपाधि जिताउन भारतका लागि बबी सिंह (१८), कारु सिंह (३०), वनालल्पेका गुइटे (६३) सहित चार खेलाडीले एक/एक गोल गरे । खेल अवधिभर नेपालले आक्रामक प्रदर्शन गरे पनि सफल हुन सकेन । सुरुवातमै भारतलाई दबाबमा राखे पनि नेपालले लय कायम राख्न असफल भयो ।

३९ औं मिनेटमा नेपाली टिमका कप्तान प्रशान्त लक्समले रेड कार्ड पाएपछि नेपाल १० खेलाडीमै सीमित भयो । भारतले पहिलो हाफमै गोल गरेको थियो । भारतले १८ औं मिनेटमा सुरुआती अग्रता लियो । उसले बबी सिंहको गोलमा सुरुआती अग्रता लिएको हो । उसका लागि कारु सिंहले ३० औं मिनेटमा गोल गरे । भारतले चौथो गोल खेलको इन्ज्युरी समयमा गर्‍यो ।

नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको थियो । समूह चरणमा नेपालले दुईवटै खेलमा जित हात पार्‍यो । समूह चरणमा नेपालले भुटानलाई २–१ र भारतलाई ३–१ ले हरायो । सेमिफाइनलमा नेपालले आयोजक तथा समूह ‘बी’ को उपविजेता श्रीलंकालाई ६–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा स्थान बनायो । यदि आज उपाधि जितेको भए नेपालले इतिहास रच्ने थियो । पहिलो संस्करणकै यू–१७ को उपाधि जितेर नेपाललाई इतिहास रच्ने मौका थियो । तर, त्यसो हुन सकेन ।

साफ यू–१७ को नाममा पहिलो पटक आयोजना भइरहेको यो प्रतियोगितालाई यसअघि यू–१६ र १५ को नामबाट सञ्चालन गरिएको थियो । पहिलोपटक सन् २०११ मा साफ यू–१६ च्याम्पियनसिपका रूपमा आयोजना भएको प्रतियोगिताको पछिल्लो संस्करण २०१९ मा यू–१५ उमेर समूहमा आयोजना गरियो । जारी प्रतियोगिताअघि नेपाल र भारतबीच ८ खेलमा प्रतिस्पर्धा हुँदा सबै खेल भारतले आफ्नो पक्षमा पारेको थियो ।

रेफ्रीको निर्णय विवादमा 

साफको फाइनलमा रेफ्रीको निर्णय विवादमा परेको छ । ३९ औं मिनेटमा भारतीय खेलाडीले नेपाली कप्तान प्रशान्तलाई लडाए । ती खेलाडी प्रशान्तको शरीरमा लडेका थिए । उनको शरीरले थिचिएका प्रशान्त केही आवेकमा देखिन्थे । त्यही आवेगका क्रममा उनले ती भारतीय खेलाडीको पिठ्यूमा सामान्य मुक्का प्रहार गरे ।

त्यसपछि भारतीय खेलाडीले ठूलो नै चोट लागेको हाउभाउ गरे । लगत्तै रेफ्रीले प्रशान्तलाई रेड कार्ड दिए । रेफ्रीको निर्णयको अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । प्रशान्तलाई रेड कार्ड दिएको क्षणपछि तिनै रेफ्रीले नेपाललाई फ्रिकिक दिएका थिए ।

प्रतिक्रिया