Pura Samachar

एएफसी यू-२० एसियन कप छनोट:बहराइनसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालकने लगातार तेस्रो हार

प्रकाशित: September 15, 2022
पूरा समाचार

एएफसी यू-२० एसियन कप छनोट:बहराइनसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालकने लगातार तेस्रो हार

एएफसी यू-२० एसियन कप छनोटमा बहराइनले नेपाललाई पराजित गरेकोछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति बहराइनसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो ।

बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे । कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक एक गोल गरे ।

बहराइनले सुरुवाती अग्रता खेलको २० औं मिनेटमा अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै लिएको थियो । नेपालका डिफेन्डर सुमित श्रेष्ठ पेनाल्टी बक्सभित्र ह्याण्ड गरेपछि बहराइनले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको २८ औं मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।

खेलको ४२ औं मिनेटमा नसिरले गोल गर्दै बहराइनको अग्रता २-० को बनाए ।

खेलको ६७ औं मिनेटमा अब्दुलरहमानले गोल गर्दै बहराइनलाई ३-० को अग्रता दिलाए । त्यस्तै खेलको ८३ औं मिनेटमा अब्दुल्लाले गोल गर्दै बहराइनलाई ४-० को अग्रता दिलाए ।

अब्दुल्लाले खेलको ८८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बहराइनलाई ५-० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा मुबारकले गोल गर्दै बहराइनलाई ६-० को जित दिलाए ।

यस जितसँगै समूह ‘बी’ को बहराइनले पहिलो जित निकालेको छ ।  बहराइनले २ खेलमा ४ अंक जोडेको छ ।नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । नेपाल प्रतियोगिताबाट समेत बाहिरिएको छ ।

पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो । अब नेपालले अन्तिम खेलमा आइतबार बगलादेशसँग खेल्नेछ ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया