
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफलमा रहेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नागरिकता विधेयकलाई लिएर राष्ट्रपति भण्डारीले विभिन्न व्यक्तिहरूसँग छलफल गरिरहेकी छन् ।संघीय संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नेपाल नागरकिता (पहिलो संशोधन) ऐन, २०७९ लाई संवैधानिक व्यवस्थाअनुसार प्रमाणीकरण गर्नैपर्ने सीमा पुगेको दिन राष्ट्रपति भने छलफल गरिरहेकी हुन् । प्रवक्ता आचार्यले नागरिकता विधेयकको अवस्था के छ ? भन्ने प्रश्नको जवाफमा भने, ‘त्यो विषयमा छलफल भइरहेको छ । छलफलमै छ, केही भएको छैन ।’ राष्ट्रपति भण्डारीले मंगलबार साँझ पनि भण्डारीले विभिन्न व्यक्तिहरूसँग छलफल गरिरहेको आचार्यले बताए । ‘कन्सल्टेसन भइरहेको छ । विभिन्न व्यक्तित्वहरूसँग छलफल भइरहेको छ,’ उनले भने । कोसँग छलफल भइरहेको छ भनेर व्यक्ति नै भने भन्न नसकिने उनको भनाइ थियो ।नागरिकता विधेयक भदौ २० गते राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पुगेको थियो । आचार्यले मंगलबार उक्त विधेयक राष्ट्रपति कार्यालयमा दर्ता भएको १५ दिन पुग्ने भएकाले राष्ट्रपति भण्डारी छलफलमा रहेको बताए ।राष्ट्रपतिले यसअघि उक्त विधेयक संसद्मा फिर्ता पठाएकी थिइन् । राष्ट्रपतिबाट फिर्ता आएको विधेयक सोही अवस्थामा वा संशोधनसहित संसद्ले प्रमाणीकरणका लागि पठाएको १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया