Pura Samachar

भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो

प्रकाशित: September 24, 2022
पूरा समाचार

भारतले  अष्ट्रेलियालाई ६ विकेटले हरायो

एजेन्सी – कप्तान रोहित शर्माको आक्रामक ब्याटिङमा भारतले दोस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ ।

जितका लागि ९१ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतका कप्तान रोहित शर्मा २० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रनमा अविजित रहे । दीनेश कार्तिक २ बलमा १ चौका र १ छक्कासहित १० रनमा अविजित रहे ।

पहिलो ओभरमा जोश हेजलवुडलाई रोहित शर्माले दुई र लोकेश राहुलले एक छक्का प्रहार गरेपछि कुल २० रन जोडेको थियो । तस्रो ओभरको पाँचौं बलमा एडम जाम्पाले लोकेश राहुललाई १० रनमा बोल्ड गरे ।

विराट कोहलीलाई पनि एडम जाम्पाले पाँचौं ओभरको दोस्रो बलमा ११ रनमा बोल्ड गरे । कोहली अघि बढेर सट खेल्ने धुनमा मिस हुँदा बोल्ड भए । कोहलीले ६ बलमा २ चौका हाने । लगत्तै अर्को बलमा जाम्पाले सूर्यकुमार यादवलाई एलबीडब्लू आउट गर्दै गोल्डेन डक पेभेलिएन फर्काए ।

भारतलाई अन्तिम १२ बलमा २२ रन चाहिँएको थियो । हार्दिक पान्ड्या बलमा ९ बलमा १ चौकासहित ९ रनमा क्याच आउट भए । सातौं ओभरको पाँचौं बलमा हार्दिक टप एज लागेर आरोन फिन्चबाट क्याच भएका थिए ।

भारतलाई अन्तिम ६ बलमा ९ रन चाहिँएको थियो । दीनेक कार्तिकले पहिलो बलमै ड्यानियल साम्सलाई छक्का हान्दै सहज जित नजिक पुर्याए । दोस्रो बलमा कार्तिकले विजयी चौका हाने । अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले २ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्सले एक विकेट लिए ।

त्यसअघि नागपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै ९० रन बनायो । वर्षा र आउटफिल्ड झिजेको हुँदा खेल ढिलोे सुरु हुँदा खेल ८-८ ओभरको भएको थियो ।

अष्ट्रेलियाका विकेटकिपर म्याथु वेड २० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रनमा अविजित रहे । कप्तान आरोन फिन्चले १५ बलमा ४ चौका र १ छक्कासहित ३१ रनमा आउट भए

दोस्रो ओभरको तेस्रो बलमा ओपनर क्यामरन ग्रीन पाँच रनमा रन आउट भए । पहिलो खेलमा ग्रीनले ६१ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए । अक्षर पटेलले तीन बलपछि ग्लेन म्याक्सवेललाई शून्यमा बोल्ड गरे ।

चौथो ओभरको पहिलो बलमा टिम डेविडलाई अक्षर पटेलले बोल्ड गरे । पाँचौं ओभरको अन्तिम बलमा जस्प्रित बुमराहले फिन्चलाई बोल्ड गरेपछि अष्ट्रेलिया ४६–४ को अवस्थामा पुगेको थियो ।

स्टिभ स्मिथ ७ रनमा आउट भए । भारतका अक्षर पटेलले २ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले २ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । अन्तिम ओभरमा हर्षल पटेलले १९ रन खर्चिएका थिए ।

पहिलो खेलमा अष्ट्रेलिया ४ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार राजिव गान्धी स्टेडियम हैदराबादमा हुनेछ ।

प्रतिक्रिया