
एजेन्सी – बंगलादेश महिला क्रिकेट टोलीले आइसिसी वुमन्स टि२० विश्वकप छनोटमा थाईल्यान्डलाई ११ रनले हराउँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपमा स्थान बनाएको छ । त्यस्तै पहिलो सेमिफाइनलमा जिम्बावेलाई ४ रनले हराउँदै आयरल्यान्डले पनि विश्वकपमा स्थान बनाएको थियो ।जितको लागि १ सय १४ रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २ रन बनायो । थाईल्यान्डकी नाथकन चन्थमले ५१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६४ रनमा आउट भइन् ।
हारका बाबजुद उत्कृष्ट ब्याटिङ गरेकी थाईल्यान्डकी चन्थम खेलको प्लेयर अफ द म्याच चुनिन् । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
बंगलादेशकी सल्मा खातुनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइन् । सन्जिदा अख्तर मेघलाले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिइन् ।
त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १३ रन बनाइन् ।
बंगलादेशकी रुमना अहमदले २४ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाइन् । ओपनर मुर्सिदा खातुनले ३५ बलमा २ चौकासहित २६ रन बनाइन् । आइतबार फाइनलमा आयरल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया