
काठमाडौं । आठौं संस्करणको आईसीसी टी–२० विश्वकपअन्तर्गत अफगानिस्तानविरुद्ध अस्ट्रेलियाविरुद्ध ४ रनले विजयी भएको छ । जारी विश्वकपमा अस्ट्रेलियाको यो तेस्रो जित हो । उसले एकमा हार र एक खेलमा भने वर्षाका कारण अंक बाँड्यो । यो जितसँगै अस्ट्रेलियाले सेमिफाइनलको सम्भावना कायमै राखेको छ ।
अफगानिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ । उसले यसपटक पाँचमध्ये तीनमा हार र दुई खेलमा वर्षाका कारण अंक बाँड्यो । शुक्रबार समूह चरणकाे अन्तिम खेलमा अस्ट्रेलियाले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो । उसका लागि राशिद खानले आक्रामक पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् ।
२३ बलको सामना गरेका उनले चार छक्का र तीन चौकासहित अविजित ४८ रन बनाए । गलबन्दिन नाइबले ३९, रहमानउल्लाह गुर्बाजले ३०, इब्राहिम जाद्रानले २६ र दर्विश रसुलीले १५ रन जोडे । अस्ट्रेलियाका लागि एडम जम्पा, जोस हेजलउडले दुई/दुई र केन रिचडर्सनले एक विकेट लिए ।
त्यसअघि एडिलेडको ओभलमा टस हारेर पहिले ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन बनायो । उसका लागि ग्लेन म्याक्सवेलले उत्कृष्ट ब्याटिङ गरे । उनले ३२ बलमा ६ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक अविजित ५४ रनक बनाए । त्यस्तै, मिचेल मार्शले ४५, डेविड वार्नर र मार्कस स्टोइनिसले २५/२५ रन जोडे ।
कप्तान म्याथ्यू वेड ६, स्टिभ स्मिथ चार, क्यामरुन ग्रीन दुई, केन रिचर्डसन एक र प्याट कमिन्स शून्य रनमा आउट भए । एडम जाम्पा एक रनमा अविजित रहे । अफगानिस्तानका लागि नवीन–उल–हकले तीन, फजलहक फारुकीले दुई तथा मुजीबउर रहमान र राशिद खानले एक/एक विकेट लिए ।
यस्तो बन्यो सेमिफाइनल समीकरण
अस्ट्रेलियाको जितपछि समूह ‘१’ को सेमिफाइनल थप रोमाञ्चक बनेको छ । यो समूहबाट न्यूजिल्याण्ड सेमिफाइनल पुगिसकेको छ । अब यो समूहबाट दोस्रो टोलीको रूपमा अस्ट्रेलिया र इंग्ल्याण्डमध्ये एकले सेमिफाइनलको टिकट काट्ने सम्भावना छ ।
यदि शनिबार हुने खेलमा श्रीलंका पराजित भए इंग्ल्याण्डले सेमिफाइनलको यात्रा गर्नेछ । यदि सो खेलमा इंग्ल्याण्ड हारेमा चाहिँ अस्ट्रेलियाले सेमिफाइनलको टिकट काट्नेछ । इंग्ल्याण्ड विजयी भएमा अस्ट्रेलियाकै जति ७ अंक हुनेछ । नेट रनरेट राम्रो भएकाले शनिबार विजयी भए इंग्ल्याण्डले सेमिफाइनल खेल्नेछ । समूह ‘१’ बाट श्रीलंका, आयरल्याण्ड र अफगानिस्तान भने सेमिफाइनलको दौडबाट बाहिरिसकेका छन् ।
प्रतिक्रिया