Pura Samachar

आज सेमिफाइनलमा इंग्ल्याण्ड र भारत खेल्दै

प्रकाशित: November 10, 2022
पूरा समाचार

आज सेमिफाइनलमा इंग्ल्याण्ड र भारत खेल्दै

काठमाडौं । अस्ट्रेलियामा जारी आठौं संस्करणको टी-२० विश्वकप सेमिफाइनलमा आज इंग्ल्याण्डले भारतविरुद्ध खेल्दैछ । भारत–इंग्ल्याण्डबीचको सेमिफाइनल खेल दिउँसो १ः४५ देखि एडिलेड ग्राउन्डमा सुरु हुनेछ । सेमिफाइनल खेल्नुअघि दुवै टोलीले प्रतिस्पर्धाका लागि आफूहरू पूर्णरूपमा तयार भएको बताएका छन् । इंग्ल्याण्ड टिमका कप्तान जोस बटलरले आफूहरूले भारतलाई हराएर फाइनलमा स्थान बनाउने दाबी गरे । उनले इंग्ल्याण्डले भारतलाई फाइनल पुग्न रोक्ने बताए ।

‘सबैले भारत र पाकिस्तानबीचको सेमिफाइनल खेलको कुरा गरिरहेका छन् । तर, हामी त्यो चाहँदैनौं । यी दुई टोलीबीच फाइनल खेल नहोस् भनेर हामी सक्दो प्रयास गर्नेछौं,’ बटलरले बिहीबार पत्रकार सम्मेलनमा भने, ‘दुवै टोली राम्रो छौं । जहाँ हुनुपर्ने थियो त्यो ठाउँमा पुगेका छौं । सबैजना सेमिफाइनल खेल्न उत्साहित छन् । हामी पक्कै पनि उत्कृष्ट भारतीय टोलीसँग खेल्न उत्सुक छौं । हामीलाई यस्तो अवस्था मनपर्छ ।’

जरी विश्वकपमा इंग्ल्याण्डले पनि राम्रो प्रदर्शन गरेको छ । इंग्ल्याण्डका बलर र ब्याटर फर्ममा छन् । त्यसैले उनीहरूविरुद्ध खेल्न भारतीय टोलीलाई सहज पक्कै हुने छैन । विश्वकप सेमिफाइनललाई लिएर भारतीय टोलीका कप्तान रोहित शर्माले सेमिफाइनलअघि प्रतिक्रिया दिएका छन् ।

‘हामीलाई टी-२० क्रिकेटको प्रकृति थाहा छ । तर, इंग्ल्याण्डलाई इंग्ल्याण्डमा हराउनु चुनौती थियो । हामीले यसलाई पार गरिसकेका छौं । यसले गर्दा हाम्रो आत्मविश्वास विश्वकपमा पनि बढेको छ,’ रोहितले भने, ‘हामीले चाहेको काम गर्ने अवसर आएको छ । भारतले जारी विश्वकपमा राम्रो प्रदर्शन गरेको छ । हामीले जे गरिरहेका छौं त्यसमा अडिग रहनुपर्छ । अहिलेसम्म गरेका कामहरूले आत्मविश्वास बढाएको छ । यो ब्याट र बल बीचको प्रतिस्पर्धा हो । आशा गरेका छौं, हामी त्यसमा सफल हुनेछौं ।’

उनले नकआउट खेल महत्वपूर्ण हुनेसमेत बताए । ‘सेमिफाइनल खेलमा राम्रो गर्न महत्त्वपूर्ण छ । तर, यसले तपाइँलाई एक विशेष खेलमा परिभाषित गर्दैन । यो कुरा बुझ्नु एकदमै जरुरी छ । यो खेलाडीको रूपमा महत्त्वपूर्ण छ कि हामीले खेल्नु र हामी जहाँबाट आएका छौं त्यसमा गर्व गर्नु । नतिजा ल्याउन बिहीबार राम्रो खेल्नुपर्छ । यदि तपाइँ नकआउट खेलहरूमा राम्रो गर्नुहुन्छ भने यसले तपाइँलाई आत्मविश्वास दिन्छ । खराब नकआउट म्याचले तपाईंलाई वास्तवमा परिभाषित गर्न सक्दैन ।’

सुपर–१२ चरणमा भारतले पाँचमध्ये चार खेल जितेको थियो । यस्तो अवस्थामा भारतीय टिमको आत्मविश्वास उच्च छ । तर, इंग्लिस टोलीमा पनि विश्वस्तरीय खेलाडी छन्, जसलाई हल्का रूपमा लिन सकिँदैन । सेमिफाइनल खेलको दबाब दुवै टोलीमाथि रहनेछ । पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई हराउँदै पाकिस्तानले फाइनलको यात्रा तय गरिसकेको छ ।

प्रतिक्रिया