Pura Samachar

नेपाल र यूएई एकदिवसीय सिरिजको पहिलो खेल आज खेल्दै

प्रकाशित: November 14, 2022
पूरा समाचार

नेपाल र यूएई एकदिवसीय सिरिजको पहिलो खेल आज  खेल्दै

काठमाडौं । नेपाल र यूएई एकदिवसीय सिरिजको पहिलो खेल भोलि (सोमबार) खेल्दैछन् । यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरु हुनेछ । हालसम्म नेपाल–यूएईबीच हालसम्म ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा यूएईले चार र नेपालले दुई म्याचमा जित हात पारेका छन् ।

नेपाल र यूएईले एकअर्काविरुद्ध सन् २०१८ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेका थिए । मलेसियाको क्वालालम्पुरमा भएको उक्त खेलमा यूएईविरुद्ध नेपाल ७८ रनले पराजित भयो । त्यस्तै, याे वर्ष दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा यूएईले नेपाललाई ९९ रनले हरायो ।

नेपालले सन् २०१९ मा यूएईमै भएको एकदिवसीय सिरिज आफ्नो पक्षमा पारेको थियो । सिरिजको पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि नेपालले त्यसपछि १४५ रन र चार विकेटको जित निकाल्यो । यो नै नेपालले जितेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज थियो । नेपाल घरेलु मैदानमा पनि त्यसलाई निरन्तरता दिँदै सिरिजमाथि कब्जा जमाउने लक्ष्यमा छ ।

नेपाललाई यूएईविरुद्ध जित निकाल्न सहज भने हुने छैन । यूएई घरेलु मैदानमा बेहोरेको हारको बदला लिँदै सिरिज आफ्नो पक्षमा पार्ने सोचमा छ । एकदिवसीय अन्तर्राष्ट्रियको पछिल्लो पाँच खेलमा नेपालले दुईमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । त्यस्तै, यूएईले पछिल्लो पाँच एकदविसीय म्याचमा एकमा जित, तीनमा हार र एक खेलमा अंक बाँडेको छ ।

मौसम :

काठमाडौंमा आज वर्षाको भने सम्भावना छैन । न्यूनतम तापक्रम १२ र उच्च तापक्रम २१ हुनेछ ।

प्रत्यक्ष प्रसारण तथा टिकट

यस खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर सिनेप्लस एचडीले गर्नेछन् । टिकटको मूल्य २ सय रुपैयाँ तोकिएको छ ।

युएईको टोली :

सिपी रिजवान (कप्तान), वृत्य अरविन्द (उप-कप्तान), अहमद राजा, एलिशान शरफुल, आदित्य सिठ्ठी, बासिल हामिद, अयान खान, मोहम्मद वासिम, अश्रन्त वल्थापाल, हजरत बिलाल, रोहन मुश्तफा, जहुर खान, जुनैद्द सिद्दीक, विष्णु सुकुमारन र सबिर अली ।

नेपाली क्रिकेट टोली :

रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह, आदिल आलम, अर्जुन साउद र गुलशन झा ।

प्रतिक्रिया