Pura Samachar

सम्झनाका हत्यारालाई हदैसम्मको कारबाही गर : डा. संग्रौला

प्रकाशित: September 27, 2020

सम्झनाका हत्यारालाई हदैसम्मको कारबाही गर : डा. संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीया नाबालिका सम्झना विकका हत्यारालाई पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरेकी छन् ।

प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार गरी हत्या गरिएको बताइएको छ । “यस्तो जघन्य अपराधमा संलग्न जो कोहि भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न म सरकारसँग माग गर्दछु,” प्रतिनिधिसभा सदस्य डा. संग्रौलाले भनेकी छन् ।

देशभर दलित समुदाय विरुद्ध आक्रमण र हिंसाका घटनाहरु बढ्दै गएका भन्दै उनले रुकुम पश्चिममा नवराज विकलगायतका छ युवाको हत्यापछि मधेशमा पनि दलित समुदायविरुद्ध हत्या र हिंसाका घटनाहरू भएका विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

“निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको देशव्यापी बिरोध हुँदा पनि अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन सकेको छैन । देशभर यसरी दण्डहीनताको स्थिति बढ्दै जाँदा त्यसको पहिलो शिकार महिला र बालबालिका नै हुने अन्तर्राष्ट्रिय अनुभवहरुले देखाएका छन्,” विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधान २०७२ ले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भनेको स्मरण गराउँदै नेतृ संग्रौलाले कोरोना महामारी नियन्त्रण, रोग र भोकसँग जुधी रहेका जनतालाई राहत दिने कामसँगै देशमा शान्ति सुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको आरोप लगाएकी छन् ।

“भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाख÷जेष्ठको मध्यान्ह गर्मीमा शीतलको अपेक्षा गर्नु जस्तो हुँदै गएको छ,” उनले भनेकी छन् ।

प्रतिक्रिया