वीरगञ्ज – रौतहटमा बिहीबार राति भएको आगलागीमा परेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

रौतहटको गौर नगरपालिका वडा नम्बर १ माइस्थान चोकमा रहेको इस्लाम सिरक–डसना पसल तथा गोदाममा अचानक आगलागी भएको थियो।आगलागीमा परेर गौर नगरपालिका–१ बस्ने मोहम्मद इस्लाम मियाँकी छोरी ९ वर्षीया रोक्शाना खातुन, पाँच वर्षीया सबना खातुन र सात वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता सुनिल मल्लले जानकारी दिए।

आगलागीमा परेर सोही स्थान बस्ने २४ वर्षीया नसिमा खातुन, २५ वर्षीय मोहम्मद इसराइल र आठ वर्षीय मोहम्मद इमरान घाइते भएका छन्।उनीहरुमध्ये इसराइल र इमरानको अवस्था गम्भीर छ। इसराइलको प्रादेशिक अस्पताल गौरमा र इमरानको वीरगञ्जस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको मल्लले बताए।

आगलागीका कारण १२ लाख बराबरको सिरक र डसना, आठ लाख बराबरको घर, टहरा र सिरक बनाउने मेसिन र छेउमा रहेको मोटरसाइकल ग्यारेजको रिपेररिङका २० लाख बराबरका सामान गरी ४० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए।

आगलागी प्रहरी दमकल र स्थानीयहरुको सहयोगले करिब दुई बजे राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।