
काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबलमा इंग्ल्यान्ड र अमेरिकाले बराबरी खेल्दै अंक बाँडेका छन् । अल बायत स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण दुबै टोली अंक बाड्न बाध्य बने ।
अमेरिकाविरुद्ध बल पोसेसनमा पकड जमाएपनि इंग्ल्यान्डले गोल निकाल्न सकेन । यता, इंग्ल्यान्डविरुद्ध अमेरिकालाई भाग्यले साथ दिएन । पहिलो हाफमै अमेरिकाका क्रिस्टियन पुलिसिचको प्रहार पोस्ट बारमा लाग्दै बाहिरिएको थियो।
यस बराबरीसँगै इंग्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राखेका छन् । समूह ‘बी’ मा रहेको इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ ।
इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । अमेरिका २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यसअघि आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले इरानलाई ६-२ गोल अन्तरले हराएको थियो । पहिलो खेलमा अमेरिकाले वेल्ससँग १-१ गोलको बराबरी खेलेको थियो ।
यस्तै कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दै अंक बाँडेका छन् ।खालिफा अन्तराष्ट्रिय स्टेडियममा शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने नेदरल्यान्ड्सले बनाएको थियो । खेलको छैटौं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, नेदरल्यान्ड्सले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । खेलको ४९ औं मिनेटमा इनर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसअघि पहिलो हाफको इन्जुरी समयमा इक्वेडरका प्लाटा स्टुपिनानले गोल गरेका थिए । तर, भीएआरले अफसाइड गोल देखाएपछि उनको गोलले मान्यता पाएन ।
यस बराबरीसँगै समूह ‘ए’ मा रहेका नेदरल्यान्ड्स र इक्वेडरले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ। नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
इक्वेडर ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २-० ले हराएको थियो । यस्तै इक्वेडरले आयोजक कतारलाई २-० ले नै हराएको थियो ।
यस समूहमा सेनेगल ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।यस समूहबाट कतार भने समूह चरणबाट बाहिरिएको छ ।लगातार दुई हार ब्यहोरेको कतारले अंक जोड्न सकेको छैन ।
प्रतिक्रिया