Pura Samachar

नेकपा एकीकृत समाजवादी थ्रेसहोल्ड कटाउन संघर्ष गर्दै

प्रकाशित: November 30, 2022
पूरा समाचार

नेकपा एकीकृत समाजवादी थ्रेसहोल्ड कटाउन संघर्ष गर्दै

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर कुल मतदाताको सङ्ख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेकोमा निर्वाचन आयोगका अनुसार झण्डै ६१ प्रतिशत मत खसेको थियो । कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलनअनुसार यीमध्ये ३ लाख मत बदर भएका छन्।

यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ। कुनै पनि राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकमा ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्नु पर्छ । त्यो भनेको ३ लाख २० हजार एक सय मत हुन आउँछ ।

निर्वाचन आयोगमा एक सय १६ दल दर्ता भएकामा प्रतिनिधिसभा सदस्य पदका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ जम्मा ४७ दल सहभागी भएका थिए। ती मध्य कति दलले थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउलान भन्ने चासो बढेको छ ।

यो समाचार तयार पार्दासम्म १ करोड ६ लाख ७० हजारमध्य एक करोड मत गणना भइसकेको छ र अव झण्डै साढे ६ लाख मत गणना हुन बाँकी छ । यति मत गनिसक्दा अहिलेसम्म ७ दलले राष्ट्रिय दलको मान्यता पाउने मापदण्ड पूरा गरेका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएका छन् ।

थ्रेस होल्ड पार नगरेका दलले पाएका समानुपातिक मत गणना नगरिने भएकाले थ्रेस होल्ड नकटाउने दलहरूले पाएका मत भने खेर जानेछ। यसरी खेर जाने दलमा अहिलेसम्म ४० वटा छन् । थ्रेस होल्ड कटाएका सात दलले अहिलेसम्म पाएको मत  ८८ लाख १० हजार १७३ छ भने यसबाहेक थ्रेस होल्ड नकटाएका दलले पाएका जम्मा मत १२ लाख १ हजार ८८३ छ । जुन मत खेर जानेछ ।

नेकपा एकीकृत समाजवादी थ्रेसहोल्ड कटाउन संघर्ष गरिरहेको छ । र उसले अहिलेसम्म २ लाख ८२ हजार १८९ मत पाएको छ । र अव उसलाई झण्डै ३८ हजार मत आवश्यक हुन्छ । त्यो मत पुर्‍यउन सकेमा खेर जाने मत कम हुनेछ ।

प्रतिक्रिया