Pura Samachar

नेदरल्यान्ड्सले फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनायाे

प्रकाशित: December 4, 2022
पूरा समाचार

नेदरल्यान्ड्सले फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनायाे

  • काठमाडौं। डेन्जल डम्फ्रिजको उत्कृष्ट प्रदर्शनप्रेरित नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ गोलको नतिजामा पराजित गर्दै फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। खेलेका पछिल्ला तीन विश्वकपमा लगातार क्वार्टरफाइनलमा पुर्याउन डम्फ्रिजले दुई असिस्ट र एक गोलसहित उत्कृष्ट प्रर्दन गरे।

डम्फ्रिजले दायाँतर्फबाट दिएको पासमा पेनाल्टी एरिया भित्र अन्मार्क्ड रहेका मेम्फिस डिपाएले उत्कृष्ट फिनिसिङ गर्दै डच टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा डेली ब्लिन्डले पनि डम्फ्रिजकै पासमा उत्कृष्ट गोल गरे। नेदरल्यान्ड्सले पहिलो हाफमा गरेका दुवै गोल करिब उस्तै थिए।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा ७६औं मिनेटमा हाजी राइटले गरेको गोलसँगै अमेरिकाले स्कोरलाइन २–१ मा घटाएको थियो। तर, त्यसको पाँच मिनेट नबित्दै डम्फ्रिजले उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरे।चार वर्षअघि रुसमा भएको विश्वकपमा छनोट हुन नसकेको नेदरल्यान्ड्स २०१४ मा ब्राजिलमा तेस्रो भएको थियो। यस्तै, सन् २०१० मा दक्षिण अफ्रिकामा फाइनलमा स्पेनसँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो।

यता कतार विश्वकपको नकआउट चरण अन्तर्गत आज शनिबार अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।उपाधि दाबेदार अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल अहमद बिन अलि स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्जेन्टिना एसियाली प्रतिद्वन्दीलाई हराएर अन्तिम आठमा पुग्ने योजनामा रहेको छ । अष्ट्रेलिया पनि अर्जेन्टिनालाई हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्न चाहन्छ ।

हेड टु हेड –

अर्जेन्टिना र अष्ट्रेलियाबीच हालसम्म ७ पटक प्रतिस्पर्धा भएको छ । जसमा ५ खेल अर्जेन्टिनाले जितेको छ । एक खेल अष्ट्रेलियाले जित्दा १ खेल बराबरीमा सकिएको छ ।

प्रतिक्रिया