Pura Samachar

बंगलादेशविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा भारत ५ रनले पराजित

प्रकाशित: December 8, 2022
पूरा समाचार

बंगलादेशविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा भारत ५ रनले पराजित

बंगलादेशविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा भारत ५ रनले पराजित भएको छ । यो हारसँगै भारतले तीन खेलको सिरिज एक म्याच अगावै बंगलादेशलाई सुम्पेको छ । अघिल्लो खेलमा भारत एक विकेटले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशले दिएको २ सय ७२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६६ रन मात्र बनाउन सक्यो ।उसका लागि श्रेयस अय्यर र कप्तान रोहित शर्माले उत्कृष्ट पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् । १०२ बलको सामना गरेका अय्यरले ६ चौका र तीन छक्कासहित सर्वाधिक ८२ रन बनाए । चोटका कारण नवौं नम्बरमा ब्याटिङ गरेका रोहितले २८ बलमा पाँच छक्का र तीन चौकासहित अविजित ५१ रनकाे पारी खेले ।त्यस्तै, अक्षर पटेलले ५६, केएल राहुलले १४, वासिङ्टन सुन्दर र दीपक चाहरले ११/११ रन जोडे । बंगलादेशका लागि इबादोत हुसेनले तीन, शाकिवअल हसन, मेहदी हसन मिराजले दुई/दुई, मुस्तफिजुर रहमान र महमुदुल्लाहले एक/एक विकेट लिए ।त्यसअघि मिरपुरस्थित शेरे बंगला राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७१ रन बनायो । उसका लागि मेहदी हसन मिराजले शतकीय पारी खेले । ८३ बलको सामना गरेका उनले आठ चौका र चार छक्काको मद्दतमा अविजित १ सय रन बनाए ।एकदिवसीय करियरमा मिराजको यो पहिलो शतक हो । यसअघि यो प्रारूपमा उनको उच्च स्कोर ८१ रन थियो । मिराजले आठौं नम्बर ब्याटिङ गर्दै शतकीय पारी खेलेका हुन् । अघिल्लो खेलमा उनले ३९ बलमा चार चौका र दुई छक्काको मद्दतमा ३८ रनको पारी खेल्दै टिमलाई १ विकेटको रोमाञ्चक जित दिलाएका थिए ।दोस्रो खेलमा महमुदुल्लाहले पनि सम्हालिएको पारी खेले । ९६ बलमा सात चौकाको सहयोगमा ७७ रन बनाए ।एक समय ६९ रनमा ६ विकेट गुमाएको बंगलादेशको पारीलाई महमुदुल्लाह र मिराजले सम्हाले । उनीहरूबीच सातौँ विकेटका लागि १६५ बलमा १४८ रनको साझेदारी बन्यो ।त्यस्तै, नजमुल हुसेन शान्तोले २१, नसुम अहमदले अविजित १८, मुस्फिकुर रहिमले १२ र अनामुल हकले ११ रन जोडे । भारतका लागि वासिङ्टन सुन्दरले तीन, उमरान मलिक र मोहम्मद सिराजले दुई/दुई विकेट लिए । योसँगै तीन खेलको सिरिजमा बंगलादेशले २–० को अग्रता लिएको छ । भारत र बंगलादेशबीचको तेस्रो एकदिवसीय शनिबार हुनेछ ।

प्रतिक्रिया