
काठमाडौ । नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै दुई पटकको च्याम्पियन अर्जेन्टिना कतार विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ।
लुसेल स्टेडियमा शुक्रबार राति भएको खेलको पहिलो हाफमा अर्जेन्टिनाले अग्रता बनाएको थियो । पहिलो हाफ सकिन १० मिनेट बाँकी हुँदा कप्तान लियोनल मेस्सीको सहयोगमा नायोल मोलिनाले गोल गरे । ३५ वर्षीय मेस्सीले एकै विश्वकपमा पाँच असिस्ट गर्ने कीर्तिमान बनाएका छन् ।
७३ औँ मिनेटमा मेस्सी आफैँले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । मेस्सीले जारी विश्वकपमा चार गोल गरेका छन् भने समग्रमा उनको यो १० औँ गोल हो ।
डेन्जेल डम्फ्रिसले बक्स नजिकै मार्कस अकुनालाई फउल गरेपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गरेका हुन् । ८८ हजार भन्दाबढी दर्शक उपस्थित भएको खेलमा ८० मिनेटपछि लुइस भान हालको टोली नेदरल्यान्ड्स खेलमा फर्कियो । ८३ औँ मिनेटमा स्टेभेन बर्गहुइसको क्रसमा वैकल्पिक खेलाडी वाउट वेगोर्सटले गोल गरेका थिए ।
थपिएको समयमा उनैले गोल गरेपछि खेल २ – २ गोलको रोमान्चक स्थितीमा पुग्यो । त्यसपछि थपिएको ३० मिनेटको समयमा दुवै टोलीले गोल थप्न सकेनन् । डम्फ्रिस दोहोरो पहेलो कार्ड खाएर मैदान बाहिरिएपछि नेदरल्यान्ड्स १० खेलाडीमा सीमित भयो ।
दुवै टोलीले गोल गर्न नसक्दा पेनाल्टी सुटआउटमा गयो । पेनाल्टीमा अर्जेन्टाइन गोलरक्षक इमालियानो मार्टिनेज नायक सावित भए । उनले डच टोलीका सुरुवाती दुई पेनाल्टी रोकेका थिए । लौटारो मार्टिनेजले निर्णायक गोल गरि अर्जेन्टिनालाई सेमिफाइनल पुर्याएका हुन् । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि क्रोएसियासँग खेल्नेछ ।
प्रतिक्रिया