Pura Samachar

स्मार्ट लाइसेन्स छाप्ने मास प्रिन्टर खरिद गर्न आह्‍वान गरेको टेन्डर प्राविधिक त्रुटि देखाउँदै रद्द: यातायात व्यवस्था विभाग

प्रकाशित: December 15, 2022
पूरा समाचार

स्मार्ट लाइसेन्स छाप्ने मास प्रिन्टर खरिद गर्न आह्‍वान गरेको टेन्डर प्राविधिक त्रुटि देखाउँदै रद्द: यातायात व्यवस्था विभाग

काठमाडौं। यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छाप्ने मास प्रिन्टर खरिद गर्न आह्‍वान गरेको टेन्डर प्राविधिक त्रुटि देखाउँदै रद्द गरेको छ।

विभागले एक महिना अगाडि स्मार्ट लाइसेन्स छाप्नका लागि आवश्यक पर्ने मास प्रिन्टर खरिदको टेन्डर आह्वान गरेको थियो। तर त्यसको ठिक एक महिनापछि नै विभागले यस टेन्डरमा आवेदन दिन समस्या रहेको भन्दै टेन्डर रद्द गरिएको जनाएको हो।

विभागले टेन्डर आह्वान गरिएको १ महिनापछि मात्र उक्त टेन्डरमा प्राविधिक त्रृटि रहेको थाहा पाएको बताएको छ। विभागका उपमहानिर्देशक इश्वरीदत्त पनेरुका अनुसार यस टेन्डरमा प्राविधिक त्रुटि देखिएका कारण टेन्डर रद्द गर्नु परेको हो।

‘यसमा प्राविधिक त्रुटि देखियो। त्यसैले केही दिनको लागि यसको टेन्डर प्रक्रिया रद्द गरिएको छ।,’ उनले बिजमाण्डूसँग भने।

उनले यसमा आवेदन दिने कम्पनीले प्राविधिक त्रुटिका कारण बिड डकुमेन्टहरु पेश गर्न नमिल्ने भएको बताए। विभागका अनुसार यसका लागि सरकारले १० करोड बजेट विनियोजन गरेको छ। हाललाई एउटा मात्र मास प्रिन्टर खरिद गर्न उक्त टेन्डर आह्वान गरिएको थियो।

ठेक्कामा अन्तर्राष्ट्रिय तथा नेपाली जोइन्ट भेन्चर कम्पनीले सहभागिता हुन सक्ने व्यवस्था गरिएको थियो। ठेक्कामा सहभागी कम्पनीहरुले सेक्युरिटीका लागि २३ लाख रुपैयाँ राख्नुपर्ने हुन्छ।

ठेक्का पाउने कम्पनीले सम्झौता भएको मितिले तीन महिनाभित्र मास प्रिन्टर विभागमा आपूर्ति गर्नुपर्ने थियो। कम्पनीले यो मेसिन इन्स्टलदेखि सबै सफ्टवेयर काम पनि गर्नुपर्ने विभागले जनाएको छ।

विभागले एक महिना अगाडि १२ लाख स्मार्ट कार्डको लागि ठेक्का आह्‍वान गरिसकेको छ। त्यसमा पनि विभागले १ महिनापछि केही परिमार्जन गरेको थियो।

प्रतिक्रिया