Pura Samachar

जनकपुर रोयाल्सले नेपाल टी–२० लिगमा चौथो जित

प्रकाशित: December 31, 2022
पूरा समाचार

जनकपुर रोयाल्सले नेपाल टी–२० लिगमा चौथो जित

काठमाठौं । समिउल्लाह सिनवारीको अलराउन्ड प्रदर्शनप्रेरित जनकपुर रोयाल्सले नेपाल टी–२० लिगमा चौथो जित निकालेको छ ।

जनकपुरले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबारको सम्पन्न दोस्रो खेलमा विराटनगर सुपर किंग्सलाई ४९ रनले पराजित गरेको हो ।

जनकपुरले  प्रस्तुत गरेको एक सय ९० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै एक सय ४० रन मात्र बनाउन सक्यो ।

विराटनगरका लागि आक्रमक ब्याटिङ गरेका हुसेन टलटले २० बलमा चार चौका र दुई छक्का मद्दतमा सर्वाधिक ४२ रनको योगदान दिए । यसैगरी प्रदिप ऐरी ३६ रनमा अविजित रहँदा गौरान्सु शर्माले ३३ तथा कप्तान आन्द्रे म्याकर्थीले १४ रन जोडे ।
जनकपुरका लागि समिउल्लाहले तीन,ललितनारायण राजवंशीले दुई तथा असान प्रियन्जन र आदिल अन्सारीले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ८९ रनको योगफल तयार पारेको थियो ।

जनकपुरका लागि समिउल्लाहले ४० बलमा समान ६ चौका र छक्का मद्दतमा अविजित ७८ रनको योगदान दिए । यसैगरी चाडविक वाल्टनले २९,सन्दीप जोराले २०,कप्तान  ट्रिभोन ग्रिफिथले १९ र खडक बोहोराले अविजित १५ रन जोडे ।

छैटौं विकेटका लागि समिउल्लाह र खडकले अविजित ८८ रनको उत्कृष्ट साझेदारी गरेका थिए । विराटनगरका लागि हुसेन टलट र सूर्य तामाङले समान दुई तथा नन्दन यादवले एक विकेट लिए ।

यसजितसँगै जनकपुर पाँच खेलमा आठ अंकका साथ दोस्रो स्थानमा कायम रहँदा पराजय ब्यहोरेको विराटनगर समान खेलबाट चार अंक जोड्दै चौथो स्थानमा छ ।

शनिबार नै सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी अल स्टार्सलाई नौ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया