Pura Samachar

काठमाडौं नाइट्सकाे चौथो जित

प्रकाशित: January 3, 2023
पूरा समाचार

काठमाडौं नाइट्सकाे चौथो जित

कीर्तिपुर । नेपाल टी-२० लिग अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं नाइट्सले विराटनगर सुपर किंग्सलाई ३४ रनले पराजित गरेको छ । खेलाडीको पारिश्रमिक विवादका कारण ९ ओभरमा झारिएको खेलमा काठमाडौंले जित निकालेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई घण्टा ढिला सुरु भएको खेलमा काठमाडौंले दिएको ९३ रनको लक्ष्य पछ्याएको विराटनगर ८ ओभर ५ बलमा अल आउट हुँदै ५८ रनमा समेटियो ।

विराटनगरका गौरान्सु शर्माले सर्वाधिक २२ रन बनाए भने विवेक यादवले १२ र नन्दन यादवले ११ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । काठमाडौंका कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित ९ ओभरमा ५ विकेट गुमाउँदै ९२ रन बनायो । सन्दीप रजालीले २२ बलमा सर्वाधिक ३२ रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल र कमलसिंह ऐरीले १४ – १४ रन बनाए ।

विराटनगरका नन्दन यादवले ३ विकेट लिए ।

प्रतियोगितामा काठमाडौंको यो चौथो जित हो भने विराटनगरको पाचौं हाँर हो । पारिश्रमिक नपाएपछि खेलाडीले प्राविधिक टोलीसमक्ष टिम लिस्ट लिन नमान्दा बिहान साढे ८ का लागि निर्धारण गरिएको टस रद्द भएको थियो ।

दुवै टिम र क्यानबीच मैदानमै छलफलपछि आजको खेल सञ्चालनमा आएका हुन् । दुवै टिमका मालिकले खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने आश्वासन दिएका छन् ।

सम्झौताअनुसार खेलाडीलाई आयोजक सेभेन थ्री स्पोर्टसले पारिश्रमिक उपलब्ध गराउनु पर्ने हो । तर सेभेन थ्रीका संस्थापक जतिन आहलुवालिया लगायतका व्यक्ति क्यानको सम्पर्कमै नरहेपछि समस्या उत्पन्न भएको थियो ।

स्रोतका अनुसार काठमाडौं र विराटनगरसहित फारवेस्ट युनाइटेड र जनकपुर रोयल्सका खेलाडीले कुनै रकम पाएका छैनन् । खेल सुरु हुनुअघि ४० प्रतिशत र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पारिश्रमिक दिने सम्झौता भएको थियो । पोखरा र लुम्बिनीका खेलाडीले भने पहिलो किस्ताको पारिश्रमिक पाएका छन् ।

प्रतिक्रिया