Pura Samachar

संकटा फुटबल क्लब आहा – रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा

प्रकाशित: January 4, 2023
पूरा समाचार

संकटा फुटबल क्लब आहा – रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा

काठमाडौं। संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफ क्लबलाई ४-१ गोल अन्तरले हराउँदै संकटा उपाधि नजिक पुगेको हो।

संकटालाई जित दिलाउन स्टेफन बिनोङ र मेसुके ओलोमोउले दुई दुई गोल गरे । एपीएफका हरि कार्कीले एक गोल फर्काए । खेलको पाँचौं मिनेटमा स्टेफनले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए ।

मेसुकेले ४३ औं मिनेटमा गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए । खेलको ६१ औं मिनेटमा स्टेफनले व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता ३-० को बनाए। ७४ औं मिनेटमा हरिले गोल गर्दै एपीएफलाई ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ४-१ को जित दिलाए । अब संकटाले उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र भुटनीज युथ सकर क्लबबीचको विजेतासँग खेल्नेछ ।

हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सूर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।

प्रतिक्रिया