
काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा एक सदस्यका लागि माघ २५ मा निर्वाचन गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने दिन असोज २३ गते राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएका थिए । मन्त्रिपरिषद्को निर्णयपछि निर्वाचन आयोगले चुनाव गराउनेछ ।
यसैगरी बैठकले सरकारले अर्थ सचिवमा तोयम रायालाई सरुवा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका रायालाई अर्थ मन्त्रालयमा ल्याइएको हो । यस्तै अर्थ मन्त्रालयको राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको छ ।
मन्त्रिपरिषद् बैठकबाट बाहिरिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आमनागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई समेटेर साझा कार्यक्रम ल्याइने बताए । निर्वाचनका क्रममा जनतालाई गरेको वाचा पूरा गर्ने गरी साझा कार्यक्रम तयार पार्ने काम भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया