Pura Samachar

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले वाम एकताको पहल गर्न कार्यदल गठन

प्रकाशित: January 5, 2023
पूरा समाचार

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले वाम एकताको पहल गर्न कार्यदल गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले वाम एकताको पहल गर्न कार्यदल गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

कार्यदलमा नेताहरू प्रकाश ज्वाला, विजय पौडेल र गंगालाल तुलाधर सदस्य रहेका छन्। यो कार्यदललाई वाम एकताका विषयमा बृहत् छलफल गर्ने र एकतासम्मको प्रक्रिया टुंग्याउने अख्तियारी दिइएको छ। प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘हाम्रो पार्टीले वाम एकताका लागि विभिन्न ढंगले पहल गर्नेछ र त्यसको अगुवाइ पनि हाम्रौ पार्टीले गर्नेछ ।’

आजको सचिवालय बैठकको मुख्य अजेण्डा सरकारमा सहभागी हुने वा नहुने विषयमा टुंगो लगाउने थियो । तर, बैठकले सरकारलाई समर्थन गर्ने वा नगर्ने र सरकारमा जाने वा नजाने निर्णय गर्न सकेन । प्रवक्ता खतिवडाले आफ्नो पार्टीलाई कसैले विश्वासको मत नै नमागेको जिकिर गरे ।

उनले बुधबार पार्टी अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको भेट पार्टीगत नभइ व्यक्तिगत भएको जिकिर गरेका छन् ।

प्रतिक्रिया