Pura Samachar

सिरहाको मिर्चैयामा आन्दोलनकारीका तर्फबाट पेट्रोल बम ढुंगामुढा प्रहार

प्रकाशित: January 9, 2023
पूरा समाचार

सिरहाको मिर्चैयामा आन्दोलनकारीका तर्फबाट पेट्रोल बम ढुंगामुढा प्रहार

लहान । सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा–८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडकोे ढुंगामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन् ।

आइतबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटक–पटक झडप भएको थियो । भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रुग्यास र गोली समेत चलाउनुपरेको थियो । झडपका क्रममा आन्दोलनकारीले पेट्रोल बमसहित ढुंगामुढा प्रहार गरेको मिर्चैया प्रहरी कार्यालयले जनाएको छ ।

आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार गर्ने दुई व्यक्ति प्रहरी नियन्त्रणमा रहेको र आन्दोलनकारीतर्फ कुनै क्षति नभएको प्रहरी प्रवक्ता एवं सिरहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताए ।

विद्यालयको लापरबाहीका कारण छात्रा सिर्जनाकुमारी महराको उपचारका क्रममा शनिबार राति मृत्यु भएको थियो । रासस

प्रतिक्रिया