Pura Samachar

लुम्बिनी अल स्टार्सलाइ नेपाल टि२० लिगको उपाधि

प्रकाशित: January 11, 2023
पूरा समाचार

लुम्बिनी अल स्टार्सलाइ नेपाल टि२० लिगको उपाधि

काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगको उपाधि जितेको छ । लुम्बिनीले फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै पहिलो संस्करणको उपाधि जितको छ । योसँगै लुम्बिनीले ५५ लाख र उपविजेता विराटनगरले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८ रन बनायो ।
विराटनगरलाई जितको लागि अन्तिम १२ बलमा ३३ रन चाहिँएको थियो । १९ औं ओभरमा किशोर महतोले मात्रै चार रन खर्चेपछि लुम्बिनी उपाधि पक्का जस्तै बनेको थियो ।

विराटनगरका ओपनर अर्जुन साउदले ४० बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए । सागर ढकालले ओपनर गौरांशु शर्मालाई ४ रनमा बोल्ड गरे ।

कप्तान रोहित पौडेल गोल्डेन डक आउट भए । हुसेन तालत ८ बलमा २ चौकासहित १३ रनमा आउट भए । पृथु बाँस्कोटा २९ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा बोल्ड भए । विवेक यादव ६, अमरसिंह राउटेला ८ र राज नान्नन ६ रनमा आउट भए ।

लुम्बिनीका विपुल शर्माले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । किशोर महतोले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । हरमीत सिंहले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी १९.२ ओभरमा १ सय ३३ रनमा अल आउट भयो । लुम्बिनीको लागि ओपनर लाहिरु मिलान्थाले २८ बलमा ३ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए । लुम्बिनीले राम्रो सुरुवात गर्यो । ओपनर लाहिरु मिलान्था र हरमीत सिंहले ५.५ ओभरमा ६४ रनको आक्रामक सुरुवात गरेको थियो । तर पावर प्लेपछि त्यो सुरुवातमा गिरावट आयो । केओन जोशेफको बलमा हरमीत रोहित पौडेलबाट क्याच आउट भए ।

सूर्य तामाङले लगत्तै अर्को ओभरमा कुशल भुर्तेललाई एक रनमा विकेटकिपर अर्जुन साउदबाट स्टम्पिङ आउट भए । रोहित पौडेलले मिलान्थालाई नन्दन यादवबाट क्याच गराएपछि विराटनगर खेलमा फर्किएको थियो । नन्दनले मिलान्थाको उत्कृष्ट क्याच लिएका थिए ।

स्पिनर राज नान्ननको बलमा चोभार एण्डतर्फ ठूलो सट खेलेपनि गौरांशु शर्माले २० रनमा क्याच लिँदै पेभेलिएन फर्काए । ईशान पाण्डे १८, विपुल शर्मा ५, गुलशन झा ३, साड्ली भान स्केलक्किक १, अनिलकुमार शाह ८ र किशोर महतो २ रनमा आउट भए ।

नन्दन यादवले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । राज नान्ननले ३ ओभरमा २४ रन २ विकेट लिए । हुसेन तालत, केओन जोशेफ, सूर्य तामाङ र रोहित पौडेलले एक एक विकेट लिए ।

प्रतिक्रिया