
हेटौंडा– पूर्व–पश्चिम राजमार्गस्थित मकवानपुरको मनहरी गाउँपालिका–९, भलादमी चोक नजिक स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बिहीबार राति करिब १० बजेतिर ना ३९ प १४३९ नम्बरको स्कुटरलाई एउटा अज्ञात सवारी साधनले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको अहिलेसम्म पहिचान हुन सकेको छैन ।
स्कुटरमा सवार मनहरी गाउँपालिका–८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ का रुपेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।
रुपेश र मिलनको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा पुर्याउने बित्तिक्कै मृत्यु भएको थियो भने धर्मराजको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक तीनै जना एउटै स्कुटरमा सवार थिए । उक्त दुर्घटनाका कारण आक्रोशित स्थानीयले बिहीबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग ठप्प पारेका थिए ।
ठक्कर दिने सवारी साधनको तत्काल पत्ता लगाउने सहमतिमा राजमार्ग खुलाइएको छ । ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताएका छन् ।
प्रतिक्रिया