
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने भएको छ । लिङ्देन उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुन लागेका हुन् ।
अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार भएको मन्त्रालय भागबन्डासम्बन्धी छलफलमा भागबन्डाबारे मोटामोटी सहमति भइसकेको उच्च स्रोतले जनाएको छ । सहमतिलाई गठबन्धन बैठकबाट अन्तिम रूप दिइएपछि मन्त्रिपरिषद् विस्तारको बाटो खुल्नेछ ।
ओली र प्रचण्डबीचको छलफलमा राप्रपाले मागेअनुसार उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय दिनेबारेमा सहमति जुटेको बताइएको छ । राप्रपाले ऊर्जासहितका मन्त्रालय मागेको बताइएको छ । १४ सिट रहेको राप्रपाबाट लिङ्देनबाहेक अरु को–को मन्त्री बन्ने भन्नेबारेमा भने स्पष्ट भइसकेको छैन ।
पार्टीले गरेका माग केही सम्बोधन भएकोले अब सरकार जाने राप्रपाका एक नेताले जानकारी दिए ।
राप्रपाको माग अनुसार नै सरकारले पृथ्वी जयन्तीमा बिदा दिएको थियो भने भ्रष्टाचार र सार्वजनिक सेवा प्रवाहलगायतका विषयमा पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।
राप्रपामा मन्त्रीको आकाङ्क्षीहरू धेरै भएकाले पार्टीमा छलफल गरेर अन्तिम निर्णय लिइने ती नेताको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्ड पुस २६ मा २६८ सांसदको विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन जुटेका हुन् । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् अहिले ८ सदस्यीय छ । जसमा एमालेबाट ४, माओवादीबाट १, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १, जनमत पार्टीबाट १ जना मन्त्री छन् ।
प्रतिक्रिया