
मकवानपुर — वाग्मती प्रदेशको सभामुखमा सत्ता गठबन्धनतर्फबाट राप्रपाका उम्मेदवार भुवन पाठक चयन भएका छन् । शुक्रबार बिहान १२ बजे बसेको प्रदेशसभा बैठकमा भएको मतविभाजनअनुसार उनलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ६२ मत अर्थात बहुमत प्राप्त भएको थियो । नेपाली कांग्रेसका उम्मेदवार शिवराज अधिकारीलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ३७ र नेपाल मजदुर किसान पार्टीकी सिर्जना सैंजुलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ३ मत प्राप्त भएको थियो । प्रदेशसभा सचिवालयका अनुसार सभामुखका उम्मेदवार तीनैजना समानुपातिक सांसद हुन् ।सत्तारुढ दलको केन्द्रीय भागबन्डाअनुसार मुख्यमन्त्री माओवादी केन्द्रले, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउनेछन् । उपसभामुख चयन प्रक्रियाको भने अझै टुंगो लागेको छैन । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सदनबाट विश्वासको मत लिनुअगाडि यस विषय टुंग्याइसक्ने बुझिएको छ । उनले पुस ३ गते विश्वासको मत लिँदैछन् ।
प्रतिक्रिया