
काठमाडौं । ग्लेन फिलिप्सको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले तेस्रो ओडिआई खेलमा घरेलु टोली पाकिस्तानलाई दुई विकेटले हराउँदै सिरिज जितेको छ । न्युजिल्यान्डले तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको हो ।
जितको लागि २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा ग्लेन फिलिप्सले ४२ बलमा ४ चौका र ४ छक्कासहित ६२ रनको अविजित इनिङ खेले । कप्तान केन विलियम्सन ६८ बलमा २ चौकासहित ५३ रनमा रन आउट भए ।
ओपनर डेभन कन्वे ६५ बलमा ५ चौका र १ छक्कासहित ५२ र फिन एलेन २५ रनमा आउट भए । डर्याल मिचेल ३६, टम लाथम १६, माइकल ब्रेसवेल ७ र मिचेल सान्टनार १५ रनमा आउट भए ।
पाकिस्तानका मोहम्मद वासिम जुनियर र अघा सलमानले दुई दुई विकेट लिए । उस्मा मिर र मोहम्मद नवाजले एक एक विकेट लिए ।
त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८० रन बनायो । पाकिस्तानका लागि ओपनर फखर जमानले १ सय २२ बलमा १० चौका र १ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेलेपनि टोलीको जितको लागि पर्याप्त बनेन । उनी रन आउट भएका थिए ।
विकेटकिपर मोहम्मद रिजवान ७४ बलमा ६ चौकासहित ७७ रनमा आउट भए । अघा सलमान ४५, हरिस सोहेल २२, कप्तान बाबर आजम ४ र मोहम्मद नवाज ८ रनमा आउट भए ।
न्युजिल्यान्डका टिम साउथीले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । लोकी फर्गुसनले दुई, माइकल ब्रेसवेल र ईश सोधीले एक एक विकेट लिए । पाकिस्तान पहिलो खेलमा ६ विकेटले विजयी हुँदा दोस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।
प्रतिक्रिया