
काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छिन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।
प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने कतै मतदान नगरी तटस्थ बसे।
इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरेका थिए । उम्मेदवारी दर्ताको पहिलो क्रममै रहेकी राना निर्वाचित भएपछि अर्की उम्मेदवार मुक्ताकुमारी यादवलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतदान गर्नुपरेको थिएन। सभामुखमा माघ ५ गते एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया