Pura Samachar

म्यानचेस्टर युनाइटेड नकआउट प्रतियोगिता इएफएल कप (कारावाओ कप) फुटबलको फाइनल प्रवेश

प्रकाशित: February 2, 2023
पूरा समाचार

म्यानचेस्टर युनाइटेड नकआउट प्रतियोगिता इएफएल कप (कारावाओ कप) फुटबलको फाइनल प्रवेश

काठमाडौं, माघ १९कतार विश्वकप सकिएर क्लब फुटबल फर्किएसँगै फरक लय र गतिमा देखिएको यंग्लिस क्लब म्यानचेस्टर युनाइटेड नकआउट प्रतियोगिता इएफएल कप (कारावाओ कप) फुटबलको फाइनल प्रवेश गरेको छ । सेमिफाइनल अन्तर्गत गत राति भएको दोस्रो लेगको खेलमा युनाइटेडले आफ्नो घरेलु मैदान नटम फोरेस्टमाथि २–० को जित निकाल्दै उपाधि नजिक पुगेको हो । फोरेस्ट यसै सिजन प्रिमियर लिगमा बढुवा भएर खेलिरहेको टिम हो । उसको उपाधि होड गत राति युनाइटेडले टुंग्याइदियो ।

युनाइटेडले पहिलो लेगको खेलमा फोरेस्टलाई उसकै घरमा ०–३ ले पराजित गरेर फाइनल लगभग पक्का गरेको थियो । गत राति दोस्रो लेगमा पनि युनाइटेडले २–० को जित निकालेपछि एग्रीगेटमा ५–० को फराकिलो जित निकाल्दै युनाइटेड प्रतियोगिताको फाइनल प्रवेश गर्न सफल भयो । गत राति ओल्ड ट्राफोर्ड रंगशालामा भएको खेलमा युनाइटेडलाई जिताउने क्रममा इंग्लिस खेलाडी मार्कुस रासफोर्डको प्रदर्शन प्रेरणादायी रह्यो

पछिल्लो समय उत्कृष्ट लयमा रहेका रासफोर्डले गत राति टिमका २ वटै गोलमा असिस्ट प्रदान गरे । खेलको ७२ मिनेटसम्म कुनै पनि गोल नभएको अवस्थामा युनाइटेडले ४ मिनेटको बीचमा २ गोल गरेर खेल जित्यो । ७३औं मिनेटमा फ्रेन्च खेलाडी एन्थोनी मार्सियालले रासफोर्डको पासमा गोल गरेर खाता खोलेका थिए । त्यसको ३ मिनेटमै ७६औं मिनेटमा ब्राजिलियन खेलाडी फ्रेडले अर्को गोल थपेपछि खेल युनाइटेडले २–० ले जित्यो । र, समग्रमा ५–० को फराकिलो जित सहित युनाइटेड फाइनल प्रवेश गर्न सफल भयो ।

अब प्रतियोगिताको उपाधिका लागि युनाइटेड र प्रिमियर लिग टोली न्यूक्यासलको प्रतिस्पर्धा हुनेछ । फाइनल खेल फेब्रुअरी २६ तारिखमा हुने तालिका छ । न्यूक्यासल अघिल्लो दिन नै प्रिमियर लिगको टिम साउथह्यामपटनमाथि एग्रीगेटमा ३–१ को जित निकाल्दै फाइनल प्रवेश गरेको थियो । म्यानचेस्टर सिटीलाई अन्तिम ८ बाटै आउट गराउने साउथह्यामपटनलाई न्यूक्यासलले सेमिफाइनलमा स्तब्ध बनायो । न्यूक्यासल यो सिजन निकै राम्रो लयमा खेलिरहेको छ । ऊ अहिले प्रिमियर लिगको टप–४ को दौडमा रहेको छ ।

प्रतिक्रिया