Pura Samachar

काठमाडौं महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता

प्रकाशित: February 7, 2023
पूरा समाचार

काठमाडौं महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता

काठमाडौं। काठमाडौं महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ।महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवालले यस सहमतिमा हस्ताक्षर गरेका छन्। यस अघि महानगरपालिका, प्राधिकरण र सडक विभागका बीच भएको सहमतिका आधारमा थप सम्झौता भएको हो।

करिब दुई वर्ष पहिले नै सम्झौता भएपनि महानगरपालिकाले व्योहोर्नुपर्ने रकम उपलब्ध गराउन आनाकानी गरेपछि सडक बत्ती जडानको काम रोकिएको थियो। महानगरपालिकाले बखेडा झिकेकै कारण काम रोकिएको थियो। महानगरपालिका सहमत भएसँगै सडक बत्ती जडानको काम अघि बढ्ने भएको छ।

प्राधिकरणले सडक बत्ती जडानका लागि ठेक्का आह्‍वान गरिसकेको छ। अहिले मूल्यांकन अन्तिम चरणमा चलिरहेको छ। काठमाडौंको करिब ७० किमिमा सडक बत्ती जडान गर्न लागिएको हो।

बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ। यसको ६० प्रतिशत रकम  महानगरपालिकाले र ४० प्रतिशत रकम प्राधिकरणले व्योहोर्ने छ।

रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको हो। स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता काम गर्न साझेदारसँग सहकार्य गरिएको पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले बताए।

महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शीतल निवाससम्म, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म, चाबहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन् । यी सडकबत्ती संरचनामा महानगरको पहिचान उल्लेख हुनेछ ।

यसै गरी विद्युत प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटीहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् ।

यो क्षेत्रमा बत्ती जडान भएपछि जगेडा रहेमा आफ्ना आफ्ना स्वामित्वमा भएका सौर्य बत्ती संरचना र यससँग सम्बन्धित प्यानल, ब्याट्रीलगायत सामानको आफैंले पुन:प्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गरिनेछ। यसपछिको मर्मत सम्भार महानगरपालिकाले गर्नेछ। त्यसपछि सडक बत्ती प्रयोग भएवापतको शुल्क महानगरपालिकाले प्राधिकरणलाई बुझाउनेछ।

१२० वाटका क्षमताका बत्तीहरु जडान गरिनेछ। स्मार्ट बत्ती सञ्चालनको प्रणाली प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ।अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था सफ्टवेयरबाटै छ।

सफ्टवेयरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ। बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै हेर्न मिल्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया