
काठमाडौं– क्रिकेटर सन्दीप लामिछाने काठमाडौंमा आयोजना हुने त्रिकोणात्मक वनडे इन्टरनेशनल सीरीजका लागि नेपाली टीमको अन्तिम १६ मा परेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना आयोजना हुने उक्त सीरीजका लागि सन्दीप लामिछानेसहित १६ खेलाडीहरूको सूची तयार पारेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई पठाएको जानकारी बाहिरिएको छ ।
आईसीसी क्रिकेट वर्ल्डकप लिग टु क्वालिफायर्स अन्तर्गत नेपालले यही फागुन २ गते मंगलबारदेखि स्कटल्यान्ड तथा नामिबियासँग त्रिकोणात्मक वनडै सीरीज खेल्दैछ ।
उक्त सीरीजका लागि अहिले २० जना लामिछानेसहित नेपाली खेलाडीहरु बन्द प्रशिक्षणमा सहभागि छन् । उनीहरूमध्ये १६ जना खेलाडीलाई अन्तिम टोलीमा समावेश गरिएको हो । प्रशिक्षणमा आवद्ध दुई खेलाडी बाहिरिएका छन् भने दुई खेलाडीलाई वैकल्पिकमा राखिएको छ ।
उता, आईसीसीको सुरक्षासम्बन्धी कमिटीले लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाइएपछि नेपालमा उत्पन्न भएको परिस्थितिका बारेमा अध्ययन गरिरहेको जनाएको छ ।
आईसीसीले लामिछानेलाई अन्तिम टोलीमा राख्दा अथवा नराख्दा दुबै अवस्थामा सडक प्रदर्शन हुनसक्ने अनुमान गरेको छ ।
टीममा राख्दा महिलावादीहरू र नराख्दा क्रिकेट समर्थकहरू सडकमा आउनसक्ने अनुमान आईसीसीको छ ।
आईसीसीले नेपालमा सन्दीपको समर्थन र विरोध गर्नेहरुमध्ये कसको संख्या बढी छ भन्ने बारेमा थाहा पाउनका लागि सामाजिक सञ्जालको विश्लेषण गरिरहेको बताइन्छ ।
त्यसो त सन्दीपकै कारण आईसीसीले यो प्रतियोगिता नै रद्द गर्न सक्ने सम्भावना समेत व्यक्त गरिएको छ ।
प्रतिक्रिया